प्राधिकरणद्वारा धरहरा पुननिर्माणको समय ९ महीना थप
निर्माणाधिन धरहराको निर्माण अवधि थपिएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले २० असोज २०७७ (२०२० अक्टोबर ६ तारिख)भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नेगरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो।
त्यसलगत्तै रमन कन्स्ट्रक्सनले २०७५ कात्तिक महीनादेखि निर्माण कार्य शुरू गरेको थियो। कोभिड-१९को कारण बन्दाबन्दी हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्सनले २१ महीना थप समय माग गरेपनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले ९ महीना समय थपेको छ। रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर ई. श्यामचन्द्र श्रेष्ठले बन्दाबन्दीका कारण काम प्रभावित भएको र मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले तोकिएको समयमै काम सम्पन्न नहुँदा समय थप्नुपरेको बताए।
अहिलेसम्म धरहराको १६ तल्ला ढलान भइसकेको जानकारी पनि श्रेष्ठले दिए। त्यसबाहेक धरहराको अन्डरग्राउण्डमा रहेको डबल बेसमेन्टको काम सम्पन्न भई ट्रिपल बेसमेन्टको काम भइरहेको पनि उनले बताए। जसमा ४ सय वटा सानो गाडी र ७ सय वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने छ।
त्यस्तै मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले धेरै काम बाँकी रहेको उनले बताए। कोभिड-१९ का कारण कामको रफ्तारमा असर पर्दा समयमै निर्माण सम्पन्न गर्न नसकिएको पनि उनको भनाइ छ। अहिले थपिएको समयमा पनि पूर्णरूपमा काम सम्पन्न गर्न चुनौति रहेको श्रेष्ठको भनाइ छ।
२२ तला रहेको धरहराको कुल लागत भ्याटसहित ३ अर्ब ४५ करोड रुपैयाँ छ। धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ। धरहराको निर्माण कार्यमा बन्दाबन्दीअघि कुल ३ सय ५० जनाले काम गरेका थिए। बन्दाबन्दीको बेला पनि २०-२५ जनाको संख्यामा कामदार राखेर निर्माण गरिरहेको कम्पनीले अहिले भने २ सय ५० जना कामदारहरूमार्फत कामलाई तिब्रता दिएको बताएको छ।