पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार पारेको भन्दै स्थानीयद्वारा क्षेत्र विकास कोष घेराउ
पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले पशुपति क्षेत्र विकास कोषको कार्यालय रहेको क्षेत्रलाई मानवसाङ्लो बनाई घेराउ गरेका छन्।
पशुपतिनाथको प्राचीनता मासिने गरी कोषले गुरुयोजना तयार गरेको भन्दै स्थानीयले दोस्रो चरणको विरोधअन्तर्गत आज (बुधबार) कोषको कार्यालय रहेको क्षेत्रलाई मानव साङ्लो बनाई घेराउ गरेका हुन्।
स्थानीय बासिन्दाले पशुपति क्षेत्रको विकासको नाउँमा परापूर्वकालदेखिको वस्ती मास्ने र पशुपति क्षेत्र भित्रको स्थानीय संस्कृति तथा जात्राको विनास गर्ने गरी गुरुयोजना ल्याइएको आरोप लगाएका छन्। पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक आशामान सङ्गतले पशुपति क्षेत्रभित्र रहेका १ सय ४० पर्व र ४० वटा भन्दा बढी जात्रा मासिने गरी कोषले गुरुयोजना ल्याएकोले विरोध गर्नुपरेको बताए।
कोषले ल्याएको गुरुयोजनाको खारेजिको माग गर्दै आफूहरूले दोस्रो चरणको विरोध स्वरुप आज कोषको कार्यालय घेराउ गरिएको बताए।
वागमती प्रदेशका प्रदेश सांसद नरोत्तम बैद्यले सरकारले स्थानीयका माग सम्बोधन गर्न खोजेको जस्तो नाटक गरिरहेको तर स्थानीयका कुनैपनि माग सम्बोधन गर्न नचाहेको स्पष्ट भइसकेको बताए। उनले खासगरी स्थानीयले गुरोयोजना खारेज गर्न, पशुपति क्षेत्र विकास कोषको खारेज गरी काठमाडौं महानगरपालिका अन्तर्गत ल्याउन माग गरेको उनले बताए। तर सरकारले संवेदनशील नभएकाले कोभिड संक्रमणको जोखिको अवस्थाका बिच पनि आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको उनले बताए।
पशुपति क्षेत्र विकास कोषले स्थानीय बासिन्दा र स्थानीय निकायसँग समन्वय नगरी गुरुयोजना तयार पारेकाले समस्या देखिएको स्थानीयहरूले बताएका छन्। स्थानीय बस्ती हट्ने भन्दा पनि पशुपति क्षेत्र भित्रका जात्रा, पर्वहरूको विनास हुने चिन्तामा आफूहरू रहेको स्थानीयले बताएका छन्। पशुपति क्षेत्र विकास कोषले गत साउन महीनामा सिफलसम्म बस्ती खाली गराउने प्रस्ताव सहितको गुरुयोजना मन्त्रालयमा पठाएको थियो। कोषले तयार पारेको १ सय वर्षे गुरुयोजनाले भुवनेश्वरी मन्दिरदेखि सिफलसम्मको बस्ती हटाउने परिकल्पना गरेको छ।