डा. केसीसँग संवादका लागि ७२ घन्टाभित्र वार्ता टोली गठन गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीसँग संवाद गर्न ७२ घन्टाभित्र वार्ता टोली गठन गर्न माग गरेको छ। चिकित्सक संघले आइतबार प्रेस विज्ञप्ती जारी गर्दैै डा. केसीको जीवन रक्षाका लागि सरकारले ७२ घन्टाभित्र वार्ता टोली गठन गरी वार्ता र संवादको माध्यमबाट अविलम्ब सत्याग्रह अन्त्य गराउन माग गरेको हो।
डा. केसीको स्वास्थ्य अवस्था गम्भीर मोडमा पुगेको बारे संघले विशेषज्ञ चिकित्सकहरूको समाज, पूर्व अध्यक्षहरू, पूर्व महासचिव र काठमाडौं उपत्यकाका अस्पताल निर्देशकहरूको बृहत छलफलपछि संघले सरकारसँग ७२ घन्टाभित्र वार्ता टोली गठन गर्न माग गरेको हो।
संघले डा. केसीको जीवन रक्षाका लागि हुनसक्ने विरोधका कार्यक्रमहरूलाई मध्यनजरमा राख्दै सरकारले यथाशिघ्र वार्ता टोली गठन गरी सौहार्दपूर्ण वातावरणमा वार्ता र संवादको माध्यमबाट उत्पन्न समस्याको समाधान गर्न अपरिहार्य भएको जनाएको छ।
“७२ घण्टाभित्र पनि सरकारले वार्ता टोली गठन गरी डा. केसीको जीवन रक्षाका लागि कुनै पहल अगाडि नबढाइएको अवस्थामा संघले जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिप्रति सरकार नै जिम्मेवार हुनेछ”, संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ।
संघले विज्ञप्तीमार्फत डा. केसीसँग वार्ता गर्न टोली समेत गठन नगरी वेवास्ता गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी विगत २१ दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनरत छन्।
उनले चिकित्सा शिक्षा सुधार लगायतका ६ बुँदे माग राखेर २९ भदौदेखि जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरा मस्ट मन्दिरबाट आफ्नो १९ औँ अनशन शुरु गरेका थिए।