शिक्षण अस्पताल पुगेर पूर्वराष्ट्रपतिले भने- ‘वार्ताबाट डा. केसीका माग सम्बोधन गर’
पूर्वराष्ट्रपति डा. रामवरण यादवले अनशनरत डा. गोविन्द केसीका माग वार्ताका माध्यमबाट सम्बोधन गर्न दुवै पक्षलाई आग्रह गरेका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राखेर त्रिवि शिक्षण अस्पताललमा अनशनरत डा. केसीलाई भेट्न शुक्रबार अस्पताल पुगेका पूर्वराष्ट्रपति यादवले डा. केसीको स्वास्थ्य बिग्रिँदै गएकोप्रति चिन्ता समेत व्यक्त गरेका छन्।
“सरकारले उहाँसँग बसेर छलफल गरोस्, वार्ता गरोस्”, पूर्वराष्ट्रपति यादवले भने, “दुवै पक्षले वार्ताबाट समाधान खोज्नुपर्छ। सरकारले उहाँको स्वास्थ्यमा पनि ध्यान देओस्।”
डा. केसीले अहिंसाका माध्यमबाट आमजनताको आवाज र समस्या राज्यलाई सुनाएको यादवले बताए। “उहाँले उठाएका विषय जनसरोकारका विषय नै हुन्”, पूर्वराष्ट्रपति डा. यादवले भने।
लामो समयको अनशनका कारण केसीको स्वास्थ्य बिग्रिँदै गएको आफूले पाएको पूर्वराष्ट्रपति डा. यादवले बताए। शुक्रबार अहिंसा दिवसको सन्दर्भमा डा. यादव अनशनरत डा. केसीलाई भेट्न शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए।
नेपालको चिकित्सा सुधारमा आफूलाई समर्पित गरेका डा. केसी विभिन्न ६ बुँदे माग राखेर २९ भदौदेखि अनशनमा छन्। शुरूमा जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित् बाबिरा मष्ट मन्दिरबाट अनशन थालेका डा. केसीलाई त्यहाँबाट काठमाडौं ल्याइएको थियो।
अहिले उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनरत छन्। यो उनको १९औं अनशन हो र आज अनशनको १९औं दिन भइसक्दासमेत उनीसँग वार्ता गर्न सरकारले कुनै पहल गरेको छैन।
बिहीबार सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले डा. केसीलाई अनशन फिर्ता लिन आग्रह गरेका थिए। केसीका उठाएका सबै माग पूरा हुने चरणमा रहेको र अहिले अनशनका लागि उपयुक्त समय नभएको भन्दै फिर्ता लिन आग्रह गरेका थिए। तर, स्वास्थ्य जटिल बन्दै गएका केसीले भने उपचार समेत गर्न मानेका छैनन्।