२१ अर्ब लगानीका दुई जलविद्युत् आयोजना रेमिटेन्स मोडलमा बनाइने, प्रतिव्यक्ति ५ लाखसम्म लगानी गर्न पाइने
सरकारले जनताको जलविद्युत आयोजनामा परेको ताप्लेजुङका दुई आयोजनालाई रेमिटेन्स मोडलमा बनाउने भएको छ। धुन्साखोला (७७.५ मेगावाट) र सिम्बुवाखोला (७०.३ मेगावाट)का जलविद्युत आयोजना रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीको शेयर लगानीमा निर्माण गरिने भएको छ । यी दुई आयोजनाको निर्माण लागत रु. २१ अर्ब हुने ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको अनुमान छ।
यी दुई आयोजनाको निर्माण र सञ्चालनको जिम्मेवारी जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को सहायक कम्पनी रेमिट हाइड्रोलाई दिइएको छ । विदेशमा बस्ने नेपालीले पठाउने विप्रेषण (रेमिटेन्स) को रकमसमेत प्रयोग गरेर यी दुई आयोजना बनाउन लागिएको ऊर्जा मन्त्रालयको भनाइ छ।
जनताको जलविद्युत आयोजना कार्यक्रम सञ्चालन तथा व्यवस्थापन समितिको ३० साउनमा बसेको बैठकले रेमिटेन्सको लगानी प्रतिशत बढाउने प्रस्ताव गरेको छ । दुवै आयोजनाका लागि यस अघि ३० प्रतिशत लगानी रेमिटेन्स र बाँकी ७० प्रतिशत ब्यांक तथा वित्तीय संस्था, विकास साझेदार, स्थानीय बासिन्दा र सर्वसाधारण लगायतबाट रकम जुटाउने उल्लेख थियो।
सो बैठकबाट विदेशमा बस्ने प्रत्येक नेपालीले रु.५ लाखसम्म लगानी गर्ने गरी मोडालिटी तयार पार्न मन्त्री पुनले निर्देशन दिएका छन् । ‘‘विदेशमा बस्ने नेपालीका लागि अहिले प्रस्तावित शेयर कम भएको महशुस भएको छ । यसलाई बढाएर कम्तीमा इच्छुकले प्रति व्यक्ति रु.५ लाख लगानी गर्न सक्ने व्यवस्था मिलाउनुस्,’’ मन्त्री पुनले भने।
पुनका अनुसार यो लगानीपछि मासिक आम्दानीले उसको घर चल्छ र फेरि विदेश जानुपर्ने बाध्यता हट्न सक्ने भएकाले पनि रेमिटेन्स मोडालिटीलाई बढाउन लागिएको हो।
धुन्सा र सिम्बुवाखोला आयोजना निर्माणकाे लगानी मोडेल नै रेमिटेन्स भएकाले बढी भन्दा बढी विदेशमा रहेका नेपालीलाई त्यसमा समेट्नुपर्ने मन्त्री पुनको भनाइ छ । हाल विदेशमा रहेकाहरुले स्वदेश फर्केपछि पेन्सनकै रुपमा नियमित आम्दानीको स्राेत जलविद्युतकै आकर्षक मानिएका जनताको जलविद्युतका आयोजनामा हुने लगानीबाट हुनेछ।
मन्त्री पुनले संसारका जुनसुकै देशमा रहेका नेपालीले लगानी गर्न पाउने तर दुई आयोजनामध्ये कुन आयोजनामा कुन देशमा रहेकाले लगानी गर्ने भन्नेबारे टुंगो लगाउन पनि निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।