रौतहटमा स्थानीयसँग झडप हुँदा प्रहरीद्वारा हवाइ फायर
रौतहटको राजपुरमा प्रहरी र स्थानीयबीच झडप भएको छ। राँगाभैंसी नेपाल ल्याउँदै गरेको सूचनाको आधारमा प्रहरीले सीमा क्षेत्रमा पुगेका थिए। तर, राँगाभैंसी ल्याउने टोलीसँग प्रहरीको झडप भएको थियो। झडपका क्रममा प्रहरीले केही राउण्ड हवाइ फायर गरेको थियो।
भारतसँग सीमा जोडिएको राजपुर नगरपालिकाको कुडिया बजारमा लुकीछिपी ५८ वटा राँगाभैँसी ल्याउँदै गरेको सूचनाका आधारमा नियन्त्रणका लागि प्रहरी त्यहाँ पुगेकाे थियो।
प्रहरीले नियन्त्रणमा लिएको राँगाभैंसी भन्सार चलान गर्ने थाहा पाएपछि स्थानीयले अवरोध गरेका थिए। अवरोधलाई हटाउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो।
झडपका क्रममा प्रहरीमाथि ढुंगामुढा प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपि रविराज खड्काले बताए। २४ साउनदेखि रौतहटमा निषेधाज्ञा र सीमानाका सिल गरिएको भएपनि प्रहरीको आँखा छलेर चोरबाटोबाट राँगाभैँसी ल्याउने गरिएको छ।
-सञ्जय मित्र, रौतहट