नर्स, सुरक्षाकर्मी र बिरामीहरुमा संक्रमण देखिएपछि धुलिखेल अस्पताल क्षेत्र सिल
संक्रमण बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको छ। आज मात्रै एक बिरामी सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र सिल गरिएको हो।
जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गर्दै अस्पतालको ५०० मिटरको दूरीसम्म अर्को सूचना जारी नभएसम्म बन्द्य गर्ने निर्णय गरेको हो।
“अस्पताल क्षेत्र सिल गरिएसँगै अस्पताल वरपर व्यवसाय गर्नेलाई आइतबारदेखि घरमै बस्न लगाइएको छ”, प्रजिअ तिमल्सिनाले भने। ९८ वर्षीय संक्रमितको घर बजारमै रहेकाले धुलिखेल बजार बन्द गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ।
संक्रमितको घरदेखि पाँच सय मिटर वरपर समेत बन्द गरिएको छ। ती वृद्धकी एक बुहारी, अस्पतालका एक नर्स, दमक घर भई अस्पतालमा पित्तथैली उपचारार्थ भर्ना भएका एक बिरामी, अस्पताल छेउ व्यवसाय गर्ने एक तथा संघीय प्रहरी कार्यालय बनेपाको जनागालका ६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।