संक्रमण बढेसँगै सकिए भेन्टिलेटर सर्भिसेज्का सबै सामग्री, सहयोगको अपिल
स्वास्थ्य स्थिति गम्भीर भएका कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटर लगायत अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गर्दै आएको नेपाल भेन्टिलेटर सर्भिसेजसँग भएका सबै भेन्टिलेटर सकिएका छन् ।
गैरनाफामुलक संस्था नेपाल भेन्टिलेटर सर्भिसेजका संस्थापक डा. विशाल ढकालले आफूहरुसँग भएका सबै भेन्टिलेटर सकिएको हिमालखबरलाई बताए ।
कोरोना संक्रमितहरुमा मुख्यतः श्वासप्रश्वास सम्बन्धी समस्या हुने गर्छ । नेपालमा कोरोना संक्रमितको ठूलो संख्या लक्षणविनाका भए पनि पछिल्लो समय लक्षणसहितका र स्वास्थ्य जटिल बनेका संक्रमित बढ्दै गएका छन् । उनीहरुलाई भेन्टिलेटर सुविधासहितको सघन उपचार आवश्यक हुन्छ ।
कोरोना संक्रमितको उपचारका लागि आवश्यक भेन्टिलेटर अस्पतालहरुलाई भाडामा दिएर सहयोग गर्दै आएको सर्भिसेजले १५ वटा भेन्टिलेटर वितरण गरिसकेको छ । बाँकी रहेका १७ वटा भेन्टिलेटर पनि बुक भइसकेको डा. ढकालले बताए ।
अहिले काठमाडौंसँगै वीरगञ्ज, जनकपुर लगायतका कोरोना संक्रमणबाट धेरै प्रभावित शहरहरुबाट भेन्टिलेटरको माग भइरहेको छ ।
“उपलब्ध भएसम्म हामीले अस्पतालहरुलाई भेन्टिलेटर दियौँ,” उनले भने, “अब भएका सबै सामग्री सकिएकाले जुटाउन सकस परेको छ ।”
संस्थाले भर्खरै वीरगञ्जस्थित नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ । वीरगञ्जमा कार्यरत गैरसरकारी संस्था सानो पाइलासँगको सहकार्यमा ती भेन्टिलेटर उपलब्ध गराइएको हो । प्रदेश २ को महानगर वीरगञ्ज अहिले कोरोनाको हटस्पट बनेको छ ।
त्यसैगरी प्रदेश २ कै जनकपुरबाट पनि चार वटा भेन्टिलेटरको माग आएको र ती सामग्री दिने क्रममा रहेको डा. ढकालले बताए ।
उनले आफुहरुसँग भएका भेन्टिलेटर सकिएकाले इच्छुक व्यक्ति वा संस्थालाई सहयोग गर्न आग्रह पनि गरे ।
“भेन्टिलेटर नपाएर सुत्केरीले पनि अस्पताल–अस्पताल धाउनु परेको छ, कतिको त्यहीक्रममा ज्यान गएको छ । भेन्टिलेटरको अभावमा कसैको पनि ज्यान नजाओस् भन्ने हाम्रो उद्देश्य हो,” डा. ढकालले भने, “सहयोग गर्न चाहनेले हातेमालो गर्न सक्नुहुन्छ ।”
भेन्टिलेटरको माग ह्वात्तै बढ्नुले कोरोनाका सिकिस्त संक्रमितको संख्या बढिरहेको देखाउँछ । जनस्वास्थ्यका जानकारहरु सरकारी र गैरसरकारी दुवै क्षेत्रले सघन उपचारका लागि चाहिने भेन्टिलेटर, आइसियु वेड, अक्सिजन लगायतका अत्यावश्यक पूर्वाधारको व्यवस्था मिलाउन अत्यावश्यक भइसकेको बताउँछन् ।
यसरी शुरु भयो भेन्टिलेटर सर्भिसेज
घरमै उपचार सेवा पुर्याउने संस्था, हेल्थ एट होमका संस्थापक समेत रहेका डा. ढकालसहित अन्य विभिन्न क्षेत्रका पाँच जना व्यक्तिको समुहले मुलुकमा कोरोना संक्रमण बढ्ने र सिकिस्त बिरामीको उपचारका लागि भेन्टिलेटर नभइ नहुने महशुस गरेपछि जन्मिएको हो, नेपाल भेन्टिलेटर सर्भिसेज ।
संस्थाका पाँच जना संस्थापकमा डा. ढकालसहित पूर्वसचिव रामेश्वर खनाल, त्रिवि शिक्षण अस्पतालको सघन उपचार विभागका प्रमुख प्रा.डा. सुवास आचार्य, लक्ष्मी ग्रुपका निर्देशक निरञ्जन क्षेष्ठ र समृद्धि फाउन्डेसनका निर्देशक दिपेन्द्र चौलागाई छन् ।
यसैक्रममा ढकालसहित पाँच जनाको समुहले तीन महिनाअघि नेपाल भेन्टिलेटर सर्भिसेज शुरु गरे ।
“हामीले महामारीका बीचमा पनि बिरामीले भेन्टिलेटरको अभावकै कारण ज्यान गुमाउन नपरोस् भनेर संस्था खोलेर सेवा गर्ने चुनौती लिएका हौँ,” डा. ढकालले भने ।
संस्थाका पाँचजना संस्थापकले आफै रकमको जोहो गरेर यूरोपबाट भेन्टिलेटर खरिद गरेर ल्याए ।
उनीहरुलाई ३२ थान भेन्टिलेटर जम्मा गर्न तीन महिना लाग्यो । बन्दाबन्दीकै बेला उनीहरुले भेन्टिलेटर भित्र्याए ।
अहिलेकै अवस्थामा मुलुकमा थप दुई हजार थान भेन्टिलेटर आवश्यक पर्ने, तर सरकारले ती साम्रगी जुटाउनका लागि आवश्यक पहल गर्न नसकेको डा. ढकालको गुनासो छ ।
नेपाल भेन्टिलेटर सर्भिसेजले कोरोना महामारीबाहेक अरु बेला पनि सघन उपचार सेवा विस्तार गर्न सहयोग होस् भनेर चाहिएका सबै ठाउँमा भेन्टिलेटर पुर्याउने लक्ष्य राखेको छ ।
भाडामा अस्पतालहरुलाई भेन्टिलेटर उपलब्ध गराउने सर्भिसेजले आवश्यकता सकिएपछि अस्पतालबाट ती सामग्री फिर्ता लिन्छ । त्यसपछि आवश्यकता भएका अन्य अस्पताललाई भेन्टिलेटर दिन्छ ।
“जसरी मुलुकमा ब्लड ब्यांक (रक्त सञ्चार केन्द्र) स्थापना भएर उपचारमा महत्वपूर्ण योगदान दिइरहेका छन्,” डा. ढकाल भन्छन्, “हामीले भेन्टिलेटर सर्भिसेजलाई पनि त्यसरी नै दीर्घकालसम्म सञ्चालन गर्ने लक्ष्य राखेका छौँ, यसले सघन चिकित्सा सेवालाई आम जनमानसमा पुर्याउने ढोका खोल्नेछ ।”
(सहयोग गर्न इच्छुक व्यक्ति वा संस्थाले नेपाल भेन्टिलेटर सर्भिसेज्को वेबसाइट http://www.ventilatorbank.com.np/ र ९८०१०१५९३४ मार्फत सम्पर्क गर्न सक्नुहुनेछ)