कोरोना अपडेट: सिकिस्त बिरामी बढ्न थालेपछि क्वारेन्टिनमा बस्नेको संख्या घट्दै
कोरोनाका संक्रमित सिकिस्त बिरामीको संख्या बढ्न थालेपछि क्वारेन्टिनमा बस्नेको संख्या घट्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकले मुलुकमा कोरोनाका सिकिस्त बिरामीहरूको संख्या बढ्न थालेपछि क्वारेन्टिनमा बस्नेको संख्या घट्दै गएको देखिएको हो।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २५ साउनसम्म क्वारेन्टिनमा बस्नेको संख्या ११०३८ छ भने आइसोलेसनमा ६५४४ जना छन्।
आइतबारसम्म ७५ जना कोरोना संक्रमितको मृत्यु हुनुले मुलुकमा कोरोनाका गम्भिर बिरामीहरु बढ्दै गएको देखाएको छ।
१२ साउनको मन्त्रीपरिषद्को बैठकले विद्यालयलाई क्वारेन्टिन बनाउन नपाइने र पहिले बनाइएका क्वारेन्टिनलाई संक्रमणमुक्त गर्ने निर्णय गरेको थियो।मन्त्रीपरिषद्को उक्त निर्णयपछि स्वास्थ्य मन्त्रालयले होम क्वारेन्टिनमा बस्ने मापदण्ड ल्याएको छ।
२० साउनसम्ममा क्वारेन्टीनमा बस्नेको संख्या १०४७९ थियो भने आइसोलेसनमा उपचाररत बिरामीको संख्या ५९२५ थियो।
यस्तै १४ साउनसम्ममा क्वारेन्टिनमा बस्नेको संख्या १४४७१ र आइसोलेसनमा उपचाररत बिरामीको संख्या ५२०३ थियो। त्यसबेलासम्म कोरोनाका कारण ४९ जनाले ज्यान गुमाएका थिए।
यसअघि ११ साउनमा मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा क्वारेन्टिनमा बस्नेको संख्या १७९०३ थियो, भने आइसोलेसनमा ५४४० जना थिए। त्यति वेलासम्म कोरोनाका कारण ४५ जनाको ज्यान गएको थियो।