महिला कलाकारमाथि गरिएको टिप्पणीको चौतर्फी विरोध, भन्छन्- कसैले महानायिका बनाउनु पर्दैन
एउटा टेलिभिजनका कार्यक्रम प्रस्तोताले नेपाली अभिनेत्रीको विषयमाथि गरेको टिप्पणीको महिला कलाकारहरूले विरोध जनाएका छन्।
‘रजतपट’ नामक कार्यक्रमका संचालक प्रकाश सुवेदीले नेपाली महिला कलाकारमाथि गरेको टिप्पणीको विषयलाई लिएर सामाजिक सञ्जालमा विरोध शुरु भएको हो।
अभिनेत्री केकी अधिकारीले फेसबुकमा लेखेकी छ्न्, "कार्यक्रम प्रस्तोताले इतिहासको अप्रासंगिक बखान गर्दै नेपाली महिला कलाकारको शारीरिक बनावटमाथि गरेको छुद्र टिप्पणी अत्यन्तै अशोभनिय र खेदजनक छ।" उनले यस्ता प्रवृति र मानसिकताको सदैव विरोध र वहिष्कार गर्ने विश्वास पनि दिलाएकी छन्।
त्यस्तै अभिनेत्री रिचा शर्माले महिलामाथि गरिने यस्ता टिप्पणीले आक्रोश र अस्थिर बनाउने बताएकी छन्। उनले यस्ता टिप्पणी गर्नेहरुलाई प्रत्युत्तर दिन सुझाव दिएकी छन्। "त्यस्ता टिप्पणी गर्नेलाई भनिदिनुहोस्, हामी हाम्रो परिश्रम र क्षमताले कलाकार भएका हौं। हामीलाई कसैले महानायिका बनाउनुपरेको छैन," उनले भनेकी छन्।
‘रजतपट’ कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीले नेपाली अभिनेत्रीमाथि टिप्पणी गर्दै "नायिकाहरूलाई फुर्ति नगर्न चेतावनी" दिएका थिए।
उनले भारतीय अभिनेत्रीको उदाहरण दिँदै अभिनेत्रीहरू ‘दो दिनको चाँदनी फिर अँधेरी रात’ भनेर समेत बोलेका थिए।
प्रस्तोता सुवेदिको टिप्पणी सार्वजनिक भएसँगै सर्वत्र आलोचना भइरहेको छ। अभिनेत्री पूजा शर्माले फेसबुकमा यही प्रसंगलाई लिएर सोधेकी छन्, "कति चुप रहने, कति सहने? अब के गरौं?"
शर्माले प्रस्तोता सुवेदीलाई दिएको अन्तर्वार्ता विवादित बनेको थियो।
पूजाले 'उक्त अन्तर्वार्तापछि सुवेदीले फेरि बोलाउँदा आफू नमानेको र त्यही अस्वीकारलाई फुर्तिको संज्ञा दिएको' आशय व्यक्त गरेकी छन्।
कार्यक्रम प्रस्तोता सुवेदीले अभिनेत्रीको शारीरिक बनावटमा समेत कमेन्ट गरेका छन्।
यसपछि सुवेदीले सार्वजानिक रुपमा माफी माग्नुपर्ने र प्रशारित टेलिभिजन च्यानलले उनको स्पष्टीकरण लिनुपर्ने कुरा उठिरहेको छ।