राष्ट्रिय सभाका चारजना सभापतिले लिए शपथ
राष्ट्रिय सभा अन्तर्गतका चारवटा विषयगत समितिहरूका नवनिर्वाचित सभापतिहरूले आज शपथ लिएका छन्। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभापतिहरूलाई सिंहदरबारमा शपथ ग्रहण गराएका हुन्।
शुक्रबार निर्वाचित भएका चारवटै विषयगत समितिका सभापतिहरूले आज शपथ ग्रहण गरेका हुन्।
गत बिहीबार भएको मनोनयनमा दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा पर्शुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी र राष्ट्रिय सरोकार समन्वय समितिमा दिलकुमारी थापा रावल (पार्वती) को मनोनयन परेको थियो।
सबै समितिहरूमा एक\एक जनाको मात्रै मनोनयन परेकाले शुक्रबार निर्विरोध निर्वाचित भएका थिए।
शपथपछि प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीले कोरोना संकट रहेकै बेला संसद पनि बन्द रहेको अवस्थामा समितिको काम कारवाही प्रभावकारी बनाउनु चुनौती रहेको बताए।
सरकारलाई संसदप्रति उत्तरदायी, जवाफदेही बनाउन सक्रियतापूर्वक काम गर्ने समयमा महामारीले केही असर गरे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर काम गर्नुपर्ने चुनौती रहेको बताए।
यस्तै राष्ट्रिय सरोकार समन्वय समिति सभापति दिलकुमारी थापा रावलले विगत दुइ वर्षको अनुभवका आधारमा सरकारलाई जवाफदेही बनाउने हिसाबले प्रभावकारी रुपमा अगाडि बढ्ने बताइन्।