नेकपाका ६१ सांसद पार्टी एकता विरोधी कुनै समूहमा नलाग्ने
सत्तारुढ नेकपाका ६१ जना संघीय संसदका सदस्यहरुले पार्टी एकताको पक्षमा उभिने निर्णय गरेका छन्। आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफूहरु कतैपनि नलाग्ने जानकारी दिएका हुन्।
तीन बुँदे प्रतिबद्धता जनाएका सांसदहरु पार्टी विभाजन हुनेगरी गरिएका गतिविधिमा समेत सहभागी नहुने भएका छन्। एकताको महाधिवेशन महाधिवेशनसम्म पार्टीको विधान र एकताको भावना समेटिनेगरी एकताबद्ध बनाउने सामुहिक पहलकदमी लिने समेत सांसदहरुले प्रतिबद्धता जनाएका छन्।
सांसद रामकुमारी झाँक्रीले पार्टी विभान हुन नदिन कतैपनि नलाग्ने निष्कर्षमा नपुगेको बताइन्। उनले भनिन्, “अहिले पार्टी विभाजन भए फेरि उठ्न सक्दैन, विगतको अनुभव यही हो। त्यसैले एकताबद्ध पार्टीका लागि सांसदहरु एक ठाउँ उभिनेछौं।” कतैपनि नलाग्न सांसदहरुको संख्या अझै बढ्ने उनले बताइन्।
स्थायी कमिटीका नेताहरुलाई यो अभियानमा सामेल नगराइएको र जिल्लाजिल्लामा रहेका अरु सांसदहरुको समेत समर्थन रहेको उनले बताइन्। संसदको लेखा समितिको हलमा आयोजित पत्रकार सम्मेलन मार्फत् ६१ सांसदहरुले एकता विरोधी क्रियाकलाप हुन नदिने समेत प्रतिबद्धता जनाएका छन्।
गएको १० असारदेखि शुरु भएको स्थायी कमिटी बैठक नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि अनिश्चित बनेको छ भने नेताहरु बीचको सम्वाद समेत रोकिएको छ। तर, पार्टी एकता जोगाउन सांसदहरु एक ठाउँमा उभिएर नेतृत्वलाई दबाव दिने सांसद विशाल भट्टराईले बताए।