चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको योग्यता नपुग्ने भन्दै परेको रिटमा सर्वोच्चले माग्यो कारण
चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको योग्यता नपुग्ने भन्दै उनको नियुक्त बदर गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ।
डा. नरेश भट्टले उपाध्यक्ष श्रीकृष्ण गिरीको योग्यता नपुग्ने भन्दै उनको नियुक्त बदरको मागसिहत २२ साउनमा रिट हालेका थिए।
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले उपाध्यक्ष गिरीको नियुक्ति बदर गर्नु नपर्ने कुनै कारण भए अदालतमा पेश गर्न आदेश दिएको हो।
साथै रिटमा अन्तरिम आदेश जारी गर्नसमेत माग गरिएकोमा सर्वोच्च अदालतले दुवै पक्षको कुरा सुनेर मात्र त्यसमा विचार गर्ने बताएको छ।
कारण देखाउ आदेश जारी गर्दै सर्वोच्च अदालतले दुवै पक्षलाई २ भदौमा छलफलमा बोलाएको छ। ९ असारमै चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि गिरीको योग्यतामा प्रश्न उठाउँदै डा. भट्टले सर्वोच्च अदालतमा रिट निवेदन दर्ताको प्रयास गरेका थिए। तर सर्वोच्चका मुख्य रजिष्टारले उक्त रिटलाई दर्ता गर्न अस्वीकार गरेका थिए।
त्यसपछि निवेदन इजलासमा पेश गरिएकोमा सर्वोच्चका न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मलता माथेमाको इजलासले रिट निवेदन दर्ता गरी नियमानुसार पेश गर्न आदेश दिएको थियो।
आयोगको उपाध्यक्षका लागि आवश्यक पर्ने २० वर्षको विषयगत अनुभव गिरीसँग नभएको दावी गर्दै त्यसैका आधारमा उनको नियुक्ति बदर गर्न माग गरिएको छ।