आइतबार थप ३८० जनामा संक्रमण पुष्टि, ४० डिस्चार्ज, दुई जनाको मृत्यु
आइतबार थप ३८० जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार, आइतबार राजधानी उपत्यकामा मात्रै ९२ जनामा संक्रमण पुष्टि भएको छ।
काठमाडौंमा मात्रै ९० जनामा संक्रमण देखिएको छ भने दुई जना ललितपुरका छन्। काठमाडौं पछि पर्सामा संक्रमित धेरै छन्। पर्सामा ७३ जनामा संक्रमण पुष्टि भएको छ। मोरङमा २८ र सप्तरीमा १७ जना संक्रमित थपिएका छन्। यो सहित नेपालमा संक्रमित हुनेको संख्या २२ हजार ९७२ पुगेको छ।
आइतबार ४० जना संक्रमित निको भएर घर फर्किएका छन्। यो सँगै ७१.१ प्रतिशत संक्रमित निको भएका छन्। अर्थात्, १६ हजार ३५३ जना संक्रमित निको भएर घर फर्किएका छन्।
३७ प्रयोगशालामा आठ हजार ५१५ जनामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट आएको हो।
अहिलेसम्म चार लाख ४३ हजार ८०४ जनाको पीसीआर परीक्षण भएको छ। आइतबार थपिएको सहित देशभर अहिले ६ हजार ५४४ संक्रमित उपचारत छन्।
त्यसमध्ये सवैभन्दा बढी प्रदेश २ मा छन्। प्रदेश २ मा तीन हजार ७५ संक्रमित उपचारत छन्। यसपछि बागमती प्रदेशमा धेरै संक्रमित उपचारत छन्। बागमती प्रदेशमा एक हजार १३२ जनाको उपचार भइरहेको छ।
प्रदेश १ मा ५११, गण्डकी प्रदेशमा २३७, प्रदेश ५ मा ४४६ जना, कर्णाली प्रदेशमा १६९ र सुदूरपश्चिम प्रदेशमा ९७४ जना उपचारत छन्। मन्त्रालयले संक्रमणबाट थप दुई जनाको मृत्यु भएको जानकारी दिएको छ। यो सहित संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ जना पुगेको छ।