वैशाखयता कालोसूचीमा थपिए ९०० ऋणी, धितो धमाधम लिलामीमा चढ्दै
ब्यांक तथा वित्तीय संस्थाबाट ऋण लिएर साँवा ब्याज नतिर्ने ऋणीहरु कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्ने क्रम बढेको छ। कर्जा सूचना केन्द्रले गत १ वैशाखदेखि २३ साउनसम्ममा ८९२ ऋणीलाई कालोसूचीमा राखिसकेको छ।
ऋणीले ऋण लिने बेला साँवाको किस्ता र ब्याज भुक्तानी गर्नेबारे ब्यांक तथा वित्तीय संस्थासँग गरेको सम्झौता अनुसारको रकम भुक्तानी नगर्दा कालोसूचीमा पर्छन्। सामान्यतयाः १ वर्ष अगाडिदेखि नै साँवाको किस्ता र ब्याज बुझाउन छोडेका ऋणीलाई ब्यांक तथा वित्तीय संस्थाको सिफारिशमा कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्छ।
कर्जा सूचना केन्द्रले चैतमा २२७ जना ऋणीलाई राखेको थियो। बन्दाबन्दीका कारण वैशाख र जेठमा कालोसूचीमा पर्नेको संख्या घटेपनि असार यता भने उल्लेख्य बढेका छन्। साउन महीनाको तीन सातामा मात्रै २७७ जना कालोसूचीमा परेका छन्। कालोसूचीमा पर्नेले अन्य ब्यांक तथा वित्तीय संस्थाबाट थप ऋण लिन पाउँदैनन् भने उनीहरुले ऋण लिंदा राखेको धितो समेत लिलामीमा जान्छ।
बन्दाबन्दी खुलेसँगै ब्यांक तथा वित्तीय संस्थाले धमाधम खराब ऋणीको धितो समेत लिलामीमा चढाउन थालेका छन्। ६ साउनमा बन्दाबन्दी खुलेसँगै ऋण नतिर्ने ऋणीले राखेको धितो लिलामीको प्रक्रिया अघि बढेको हो। बन्दाबन्दी अवधिमा राष्ट्र ब्यांकले धितो लिलाम नगर्न ब्यांक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो।
तर, अहिले धितो लिलामीमा गएका ऋणीहरु गत पुसभन्दा अगाडि नै खराब ऋणीको सूचीमा चढिसकेकाहरु हुन्। नेपाल राष्ट्र ब्यांकले गत पुससम्म नियमित रुपमा साँवाको किस्ता र ब्याज तिरिरहेका ऋणीले त्यसयता किस्ता र ब्याज बुझाउन नसकेपनि उनीहरुलाई असल ऋणीकै रुपमा राख्न ब्यांक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र ब्यांकले विभिन्न व्यवसायका लागि लिइएको ऋणको भुक्तानी गर्ने अवधिलाई पनि कम्तीमा आगामी पुससम्म बढाइदिएको छ।
गत पुसअगाडि नै ऋणको किस्ता र ब्याज नतिर्ने खराब ऋणीमा दरिएकाहरुले राखेको धितो मूल्यांकन गरी ब्यांक तथा वित्तीय संस्थाहरुले लिलाममा चढाइरहेका छन्। त्यस्तै, पुसअगाडि देखि नै ऋणको साँवाको किस्ता र ब्याज भुक्तानी नगरेका ऋणीलाई कर्जा सूचना केन्द्रले पनि धमाधम कालोसूचीमा राखिरहेको छ।
पुस महीनाभन्दा अघिदेखि नै कर्जाको किस्ता नियमितरुपमा भुक्तानी नगर्ने ऋणीहरुलाई ब्यांक तथा वित्तीय संस्थाले लकडाउन खुलेसँगै कालोसूचीमा राखेका हुन्। राष्ट्र ब्यांकले ब्यांक तथा वित्तीय संस्थालाई पुसमा असल वर्गमा रहेको कर्जालाई असार मसान्तसम्म नै असल वर्गमा नै राख्न निर्देशन दिएको छ।