उड्डयन प्राधिकरणको बजेट ४१ अर्ब, ५१ प्रतिशत रकम सरकारबाटै लिने
कोभिड–१९ का कारण रु. ६ अर्ब आम्दानी गुम्ने अनुमान गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वर्षको तुलनामा १२.४५ प्रतिशतले बजेट घटाएर यो वर्षका लागि रु.४१ अर्ब १२ करोडको बजेट तय गरेको छ।
नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले रु.४१ अर्ब १२ करोड ८ लाखको बजेट सार्वजनिक गरेको छ । प्राधिकरणले चालू आर्थिक वर्ष २०७७/७८ को लागि तय गरेको उक्त बजेटको स्रोत सबैभन्दा बढी (५१ प्रतिशत) सरकारबाट नै लिने उल्लेख छ।
प्राधिकरणले वर्षेनि सरकारबाट ऋण, शेयर र अनुदानको रुपमा विमानस्थल निर्माण तथा मर्मतका निम्ति यस्तो रकम लिने गरेको छ। चालू आवका लागि पनि प्राधिकरणले रु.२० अर्ब ९५ करोड ६५ लाख सरकारबाटै लिएर बजेट तयार पारेको हो।
गत आव २०७६/७७ को तुलनामा प्राधिकरणको यो वर्षको तुलनामा रु.५ अर्ब ८४ करोड (१२.४५ प्रतिशत) ले कम हो। प्राधिकरणले गत वर्ष ४६ अर्ब ९६ करोडको बजेट सार्वजनिक गरेको थियो।
प्राधिकरणले चालू आवका लागि २३ साउनमा जारी गरेको उक्त बजेट अनुसार यसको खुद वार्षिक आम्दानी रु.२ अर्ब ७ करोड ३२ लाख छ । प्राधिकरणले विमानस्थल विकास शुल्कबाट रु.६० करोड २८ लाख, सरकारी ऋण, शेयर लगानी र अनुदान रु.२० अर्ब पाउने गरी कुल रु.२३ अर्ब ६३ करोड २५ लाखको आर्थिक स्रोत उल्लेख गरेको छ।
यो बाहेक नेपाल सरकारबाट प्राप्त हुनुपर्ने रु.८६ करोड ४५ लाख, बढी भुक्तानी भएको मूल्य अभिवृद्धि कर फिर्ता पाउनुपर्ने रु.१ अर्ब २६ करोड ६२ लाख गरेर जम्मा आम्दानी रु.२५ अर्ब ७६ करोड ३२ लाख उल्लेख गरेको छ।
प्राधिकरणले १ साउन २०७७ को पेश्की मौज्दात रु.५ अर्ब ३८ करोड र सो दिनको ब्यांक मौज्दात रु.१० अर्ब ३५ करोड ३८ लाख गरेर कुल रु.४१ अर्ब १२ करोड ०८ लाखको बजेट तयार पारेको पनि प्राधिकरणले जानकारी दिएको छ।
यो बजेटबाट रु.४१ अर्ब ११ करोड ०३ लाख खर्च गरेर रु.१ करोड ०५ लाख मात्रै बचत गर्ने उड्डयन प्राधिकरणले सार्वजनिक गरेको चालू आवको बजेटमा उल्लेख छ।
गत आवको बजेट खर्च ४२ प्रतिशत मात्रै
प्राधिकरणले गत आव २०७६/७७ मा रु.४६ अर्ब ९६ करोड ५१ लाखको बजेट बनाएको थियो । सो बजेटबाट जम्मा ४२ प्रतिशत अर्थात रु. १९ अर्ब ५१ करोड ५५ लाख २९ हजार ६९३ मात्रै खर्च भएको थियो।
प्राधिकरणका अनुसार कोभिडका कारण चालू आवमा प्राधिकरणको आम्दानी रु.६ अर्बले घट्ने अनुमान गरिएको छ । कोभिड –१९ कै कारण सन् २०२० को पहिलो ६ महीनामा हवाई यात्रु गत वर्ष सन् २०१९ को सोही अवधिको तुलनामा अन्तर्राष्ट्रियतर्फ ६१ र आन्तरिकतर्फ ५५ प्रतिशत यात्रु घटेका छन् । सन् २०२० मा करीब ८० प्रतिशतले हवाई यात्रु घट्ने पनि प्राधिकरणको भनाइ छ।