कोरोना अपडेट: झण्डै ५० प्रतिशत सक्रिय संक्रमित प्रदेश-२ मा मात्रै
कोरोनाका सक्रिय संक्रमितको करिब ५० प्रतिशत एउटा मात्रै प्रदेशमा रहेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार प्रदेश-२ मा मात्रै देशभर रहेका कोरोनाका सक्रिय संक्रमितको संख्याको करिब ५० संख्या रहेको देखिएको हो।
मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमितको संख्या २२५९२ जना पुगेकोमा सक्रिय संक्रमितको संख्या ६२०६ छ।
यीमध्ये शनिवारसम्ममा प्रदेश–२ मा मात्रै सक्रिय संक्रमितको संख्या झण्डै तीन हजार अर्थात, २९२९ जना पुगेको छ। प्रदेश-२ मा रहेका सक्रिय संक्रमितको संख्या अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी हो।
सक्रिय संक्रमितको संख्या बढेसँगै प्रदेश–२ का अस्पतालहरू भरिन थालेका छन्। यसपछि सबैभन्दा धेरै कोरोनाका सक्रिय संक्रमितको संख्या बागमती प्रदेशमा १०२९ छ। र, कर्णाली प्रदेशमा सबैभन्दा कम १६३ छ।
प्रदेश–२ मा कोरोनाका सक्रिय संक्रमितको संख्या बढेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)का पूर्व निर्देशक डा. बाबुराम मरासिनी प्रदेश–२ को अवस्था नियन्त्रणभन्दा बाहिर पुगिसकेको र सबैभन्दा बढी वीरगञ्ज प्रभावित बनेको बताउँछन्।
डा.मरासिनिका अनुसार प्रदेश–२ मा कोरोनाको संक्रमण सबैभन्दा बढी फैलनुको मुख्य कारण राज्यको कमजोर उपस्थिति र स्थानियहरूमा अनुशासनको कमी हो।
भारतबाट आउने जाने कामलाई कडाई नगर्नु र विवाहलगायतका अन्य संस्कारजन्य कामका कारण पनि प्रदेश–२ प्रकोपको केन्द्र बन्न पुगेको विज्ञहरूको भनाइ छ।
“एक जनाले सुर्ती खाने र अरुलाई पनि बाड्ने, पान खाएर जहाँ पायो त्यहीँ थुक्ने जस्ता सरसफाईको कमीले त्यहाँ भाइरस संक्रमित व्यक्तिबाट अर्कोमा छिटो फैलियो,” डा. मरासिनि भन्छन्, “कोरोना संक्रमणका लागि खोकी भन्दा पनि थुक बढी जोखिमयुक्त मानिन्छ।”
उनी थुक्ने जस्ता नराम्रो कामलाई परिवर्तन गर्न सरकारले उक्त क्रियाकलापमा प्रतिबन्धसहित जरिवानाको व्यवस्था गर्नुपर्ने सुझाव दिन्छन्। त्यसो नहुँदा समस्या बढेको उनको बुझाइ छ।
डा. मरासिनि स्पानिस फ्लुको संक्रमण फैलिएका बेला कतिपय मुलुकले थुक्ने कामलाई प्रतिबन्ध लगाएको र यसले संक्रमण नियन्त्रणमा सघाउ पुगेको बताउँछन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय स्तरमा कोरोनाको संक्रमण रोक्न ठाउँ विशेष सुहाउँदो नियन्त्रणको उपाय लागू गर्न नसकेको उनको भनाइ छ।
“प्रदेश–२ मा सरकारले मास टेष्टिङ गरेर संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्ने व्यवस्था मिलाउनु पर्छ,” उनी भन्छन्, “सीमानाकाबाट भित्रिने क्रमलाई पनि रोक्नुपर्छ।”
डा. मरासिनि अब सरकारले प्रभावित ठाउँका नजिकका जिल्लामा संक्रमण फैलन नदिन परीक्षण बढाउने र व्यवहार परिवर्तन गर्न कडाई गर्नुपर्ने बताउँछन्।