अमेरिका बस्दै आएका लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना संक्रमण
लामो समयदेखि अमेरिका बस्दै आएका लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता केसीलाई कोरोनाभाइरस संक्रमण भएको छ। गायक महतले सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेखेर संक्रमण भएको जनाएका हुन्।
उनले आफू घरैमा पत्नी कवितासहित आइसोलेसनमा बसेको जनाएका छन्। आफूहरु डा. सरगम महतको निगरानी र निरीक्षणमा रहेको पनि उनले जनाएका छन्। सरगम उनीहरुका छोरा हुन्।
महत अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूतसमेत हुन्। फेसबुकमा उनले लेखेका छन्, “यदि हामीले समयमै सतर्कता अपनाएनौं भने विश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाउने वाला छैन। ध्यान राख्दा राख्दै दुर्भाग्यबस हाम्रो श्रीमान् श्रीमती पनि यसबाट बच्न सकेनौँ।”
कोरोनाभाइरसको संक्रमण भए शरम नमानी समुदायलाई सूचित गर्न पनि उनले आग्रह गरेका छन्। इमान्दारिताले देश, समुदाय, स्वास्थ्यकर्मी र विश्वस्वास्थ्य संगठनप्रति नै सहयोग पुग्ने उनले उल्लेख गरेका छन्।