बिजुली झ्याप्प-झ्याप्प गइरहन्छ, तर प्राधिकरण भन्छ-प्रणालीमा समस्या छैन
पछिल्लो ४/५ दिनदेखि बिजुली अनियमित भइरहेको छ । केही क्षण बिजुली कटौती हुनेदेखि विभिन्न स्थानमा दिनैभरसम्म बिजुली जाने समस्या देखिएको छ।
स्थानीय स्तरमा हुने सडक मर्मतदेखि तराई क्षेत्रमा बाढी र हावाहुरीले रुख ढलेर तारमा क्षति पुगेका कारण केही दिन समस्या भए पनि अहिले समाधान भइसकेको नेपाल विद्युत् प्राधिकरणका भारप्रेषण केन्द्र कलंकीका प्रमुख सुरेश भट्टराईले बताए।
उनले भने, ‘‘बिजुली बेला बेलामा जानुलाई नेपाल प्राधिकरणकाे प्रणालीगत समस्या छैन । तर केही दिनअगाडि भने हेटौंडा ढल्केबर र रक्सौल—परवानीपुर प्रसारण लाइनमा रुख ढलेर तार चुँडिएपछि समस्या देखिएको थियो अहिले त्यो समाधान भइसक्यो’’, भट्टराई भन्छन्, ‘‘अझै कुनै ठाउँमा बिजुली आउने जाने समस्या छ भने त्यो स्थानीय स्तरमा भएको सडक मर्मतदेखि हावाहुरीका कारण र रुखका पातले तारमा छोएका कारण समस्या भएको हुनसक्छ।’’
भट्टराईले हिमालखबरसँग भने बिजुली झट्ट आउने र जानेमा रुख तथा बिरुवाका पातले तारमा छुँदा त्यस्तो हुन सक्छ । त्यसका लागि तारलाई छुने रुखपात काट्ने वा हटाउने गर्नुपर्छ । सडक निर्माण भइरहेका कारण त्यसले पनि समस्या भइरहेको हुन सक्छ। लोकल लेबलको फिडरमा भएको समस्या सबै हामीलाई थाहा पनि हुँदैन।
उनले भने, "जुन क्षेत्रमा समस्या देखिएको छ सोही क्षेत्रको प्राधिकरण कार्यालयबाट जानकारी लिनुपर्ने हुन्छ । प्राधिकरणमा जानकारी आउने राष्ट्रिय प्रणालीमा केही समस्या भए मात्रै त्यसको रेकर्ड हुन्छ । सामान्य कारणलाई हामीले सम्बन्धित कार्यालयबाट नै बुझ्नुपर्छ।"
प्राधिकरणका डेढ सय वटा कार्यालय रहेकोले सम्बन्धित क्षेत्रमा भइरहेको स्थानीय स्तरको कामका कारण आउने समस्या त्यहीं बुझ्नुपर्ने पनि भट्टराईले बताए।
प्राधिकरणका अनुसार अहिले पिक सिजन भएकाले सबैजसो नदी प्रवाही आयोजना पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन् । निजी क्षेत्रले उत्पादन गरेका बिजुलीको आपूर्ति राम्रो भएको भए पनि डिमाण्ड भने उच्च नै भएका कारण प्राधिकरणलाई एक\डेढ सय मेगावाट बिजुली अझै आयात नै गर्नुपरिरहेको अवस्था छ।
प्राधिकरणका अनुसार हाल आवश्यकता अनुसार बिजुली आयात र निर्यात दुवै भएको छ । प्राधिकरणको तथ्यांक अनुसार नेपाल विद्युत प्राधिकरणका आयोजनाबाट १०३६१ मेगावाट प्रतिघण्टा, स्वतन्त्र ऊर्जा उत्पादकबाट ११२०१ मेगावाट प्रतिघण्टा बिजुली आपूर्ति भइरहेको छ । हालको २६४४८ मेगावाट प्रतिघण्टा बिजुलीको माग पूरा गर्न प्राधिकरणले भारतबाट ४८३६ मेगावाट प्रतिघण्टा आयात गरेको छ भने ६२५ मेगावाट प्रतिघण्टा निर्यात पनि गरिरहेको छ।
प्राधिकरणका अनुसार आवश्यकता अनुसार आयात र निर्यात दुवै हुने गरेको छ । रक्साैल र रामनगरबाट निर्यात भइरहेको भट्टराईले बताए । यो क्षेत्रबाट हुने निर्यात भारतले गर्ने मागको आवश्यकता अनुसार दिने गरिएको पनि भट्टराईले बताए । यस्तो निर्यात कुनै दिन हुँदै नहुने र बेला बेलामा घटबढ पनि हुने गरेको प्राधिकरणको भनाइ छ।
बागडोल धोबीघाटमा दुई दिन बिजुली अवरुद्ध
पुल्चोक वितरण केन्द्रको टेकु रिङरोड फिडरबाट वितरण भएको ११ केभी लाइनमा नयाँ फिडर तान्ने कार्य गर्नुपर्ने भएका कारण २३–२४ साउनमा भने बागडोल धोबीघाट क्षेत्रमा दुई दिन बिजुली अवरुद्ध हुने भएको छ । यो क्षेत्रमा दुई दिन विहान १० बजेबाट साँझ ५ बजेसम्म सटडाउन हुने प्राधिकरणले जानकारी दिएको छ।
यस फिडर अन्तर्गत बागडोल क्षेत्र आसपास, सनराइज टावर अफलोडल, सानेपा रिङरोड बाहिर, खाद्य गोदाम आसपास, चाइनिज क्याम्प एरियालगायत यस फिडरबाट वितरण गरिएका क्षेत्रका ग्राहकवर्गमा पर्ने विद्युत् आपूर्ति दुई दिनसम्म कार्यालय समय अवधिभर नहुने उल्लेख छ । प्राधिकरणले बिजुली आपूर्ति तोकिएको समय अगाडि नै सकिएको अवस्थामा छिटो लाइन पुन:शुरु गर्ने प्रयास पनि गरिरहेको उल्लेख छ।