१ भदौदेखि खुल्ने अन्तर्राष्ट्रिय उडानमा विदेशीलाई 'अन अराइभल भिसा' नदिइने
सरकारले १ भदौदेखि उडान खुला गर्ने भएपनि विदेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदा सहजीकरण गर्ने गरी दिइएको 'अन अराइभल भिसा' नदिने भएको छ।
२२ साउनमा पर्यटन मन्त्रालयमा भएको सरोकारवाला निकायसँगको छलफलपछि हाललाई 'अन अराइभल भिसा' नदिने निर्यण भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए।
"उडान खुला गर्ने विषयलाई सकारात्मक रुपमै लिइएको भएपनि विमानस्थलबाट दिने 'अन अराइभल भिसा' भने रोकिने भएको छ," उनले भने "अब गृह मन्त्रालयले सूचना जारी गरेर यसको जानकारी दिनेछ।"
वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान खुला गर्न अब १० दिन बाँकी रहँदा पर्यटक आउने र आवश्यक सुरक्षा मापदण्ड अपनाउने विषयमा अझै सरकार स्पष्ट भइसकेको छैन। सरकारले आवश्यक निर्णय नदिदाँ पर्यटक आउन अलमल भइरहेको छ भने सुरक्षा मापदण्ड अपनाउने विषयमा पनि अन्योल भएको छ।
सचिव अधिकारीले स्वास्थ्य मापदण्डको विषयमा स्वास्थ्य मन्त्रालयसँग आवश्यक छलफल भएको बताए। सो मन्त्रालयले आइतबारसम्ममा अब आउने विदेशी पर्यटकसहितलाई दृष्टिगत गरेर मापदण्ड जारी गर्ने जानकारी दिएको अधिकारीले बताए। उनका अनुसार कोभिडको संक्रमण फैलदै गएको अवस्थामा उडान समय सार्ने विकल्पमा समेत छलफल भएपनि कुनै निर्णय हुन सकेको छैन।
अध्यागमन विभागले हाल नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथोपिया, इराक, प्यालेष्टाइन, अफगानस्थान र सिरियालाई 'अनअराइभल भिसा' दिँदैन। यो बाहेक जुनसुकै देशबाट आउने ट्राभल डकुमेन्ट विनाका शरणार्थीलाई दिने 'अन अराइभल भिसा' पनि सरकारले रोकेको विभागले जानकारी दिएको छ।
यी बाहेकका सबैजसो मुलुकका नागरिकले नेपालमा आउँदा 'अन अराइभल भिसा' पाउने गरेका छन्। सरकारले कोभिड संक्रमण रोकथामका लागि गरेको बन्द गरेको करिब ५ महीनापछिको हवाई उडानमा पनि 'अन अराइभल भिसा' रोक्ने भएको छ।