पर्यटक आगमन शून्य भएपछि सुक्यो पर्यटन बोर्डको स्रोत, संचित कोषबाट बजेट ल्याउँदै
अन्तर्राष्ट्रिय पर्यटक आगमन ठप्प भएपछि नेपाल पर्यटन बोर्डको बजेट व्यापक रुपमा कटौती हुने भएको छ। विदेशी पर्यटक आगमन हुँदा मात्रै आम्दानी गर्ने बोर्डले सन् २०२० मा पर्यटक आगमन नहुने र कोभिडपछि पर्यटक आइहाले पनि न्यून हुने भन्दै संचित कोषमा भएको रकमलाई आधार मानेर बजेट तयार पार्दै छ।
चालू आर्थिक वर्ष २०७७/७८ मा जम्मा २ लाख ६ हजार पर्यटक आउने अनुमान गरेर बजेट तय गरेको पर्यटन बोर्डका एक सदस्यले बताए। उनले भने ‘‘१ भदौदेखि खुला हुने हवाई उडानबाट पर्यटक आउलान् भन्ने आशा गरिएको भएपनि कोभिड संक्रमणको जोखिम बढ्दै गएकोले अहिले नै कस्तो अवस्था हुन्छ भनेर भन्न सकिंदैन। त्यैसले बोर्डले संचित कोषमा रहेको रु.१४ करोडलाई आधार बनाएर सोही अनुसार बजेट तय गरेको छ।’’
बोर्डको यो वर्षको बजेटको स्रोत नभएकाले अत्यावश्यक बाहेकका धेरैजसो खर्च शीर्षक कटौती गरेर जम्मा रु. १४ करोडको मात्रै बजेट तय भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनन्जय रेग्मीले बताए। उनले भने ‘‘बोर्डको आम्दानीको एउटै मात्र स्रोत नेपाल आएका विदेशी पर्यटकले फर्कदा तिर्ने शुल्क मात्रै हो।’’
पर्यटक आएको अवस्थामा पदयात्रामा जाँदा लिने अनुमतिसहितको शुल्क पनि ठप्प भएकाले यो वर्ष अन्तर्राष्ट्रिय प्रवर्द्धनसहितको खर्च पनि कटौती भएको रेग्मीले बताए।
बोर्डले नेपाल आएका विदेशी पर्यटक फर्कदा हवाई टिकटमै प्रतिव्यक्ति रु.१००० का दरले पर्यटन सेवा शुल्कका नाममा बोर्डलाई शुल्क बुझाउने गर्छन्। यही शुल्कका आधारमा पर्यटन बोर्डले पर्यटकीय प्रवर्द्धनको प्याकेज बनाउने र प्रशासनिक खर्च चलाउने गर्छ।
बोर्डका अनुसार यो वर्ष अनुमानित पर्यटक आगमन, बोर्डले उठाउनुपर्ने शुल्क, तथा अन्य आर्थिक पक्षलाई समेटेर करीब पौने एक अर्बको बजेट बनाउने तय भएपनि खर्च गर्न सकिने रकम भने रु.१४ करोड मात्रै देखिएको छ। बोर्डका सञ्चालक समिति सदस्य अवधेशकुमार दासको संयोजकत्वमा एक उपसमिति बनेको छ।
उपसमितिले बजेट तय गरेर छलफलका निम्ति बोर्ड बैठकमा पेश गरेको भएपनि पूर्वाधार, सभा–सम्मेलनसहितको मास टुरिजम प्रवर्द्धन, अन्तर्राष्ट्रिय प्रवर्द्धनमा बजेट नराखिएको र संचित रकममा नै सीमित भएर बजेटलाई अन्तिम रुप दिने विषयमा अन्तिम छलफल बाँकी नै रहेकोले बजेट स्वीकृत हुन भने बाँकी रहेको उल्लेख छ।