बीजेपी नेताहरु नै संक्रमित भएपछि राम मन्दिर शिलान्यास स्थगित गर्न दबाब
भारतीय जनता पार्टी (बीजेपी) वरिष्ठ नेताहरु नै कोरोनाभाइरस संक्रमित हुन थालेपछि राम जन्मभूमि अयोध्याको न्यासमा भोलि हुने राम मन्दिर शिलान्यास कार्यक्रम रोक्न दबाब परेको छ।
कोरोनाभाइरस संक्रमित भएका गृहमन्त्री अमित शाहले ट्विट गर्दै पछिल्ला दिन आफ्नो सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा बसेर जाँच गराउन आग्रह गरेका छन्। उनको सम्पर्कमा प्रधानमन्त्री नरेन्द्र मोदी थिए कि थिएनन् भन्ने प्रश्न पनि उठाउन थालिएको छ। मोदी राम मन्दिर उद्घाटनका लागि न्यास जाने कार्यक्रम छ।
उत्तर प्रदेशको क्याबिनेट मन्त्री कमल रानी वरुणको संक्रमणबाटै मृत्यु भइसकेको छ। अरु पाँच मन्त्री संक्रमित भएका छन्। उत्तर प्रदेशकै बीजेपी अध्यक्ष स्वतन्त्रदेव सिंह पनि संक्रमित छन्। मुख्यमन्त्रीहरु मध्य प्रदेशका शिवराज सिंह चौहान र कर्नाटकका बीएस येद्दियुरप्पा समेत संक्रमित छन्। दुवै जना बीजेपीकै हुन्।
उता मध्यप्रदेशकी पूर्व मुख्यमन्त्री उमा भारतीले ट्विट गरेर आफू अयोध्या गए पनि कार्यक्रममा सहभागी नहुने जनाएकी छिन्। उनले कार्यक्रममा सहभागी हुने व्यक्ति र खासगरी प्रधानमन्त्री मोदीको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरेकी छिन्।
राम जन्मभूमिको आन्दोलनसँग जोडिएका बीजेपीका वरिष्ठ नेता लालकृष्ण आडवाणी र मुरली मनोहर जोशी भिडियो कन्फरेन्समार्फत सहभागी हुनेछन्। यसको अर्थ उनीहरु पनि अयोध्या जाने छैनन्।
उत्तर प्रदेश लगायत देशका अन्य भागमा संक्रमण बढ्दै गएपछि मन्दिर शिलान्यास कार्यक्रममा १५० जना मात्र उपस्थित हुने र भौतिक दूरी कायम गरिने बताइएको थियो। तर, अब त्यो संख्या पनि कम गर्नेबारे छलफल भइरहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
कार्यक्रमको समय र बोलाएका अतिथिप्रति राम जन्मभूमि आन्दोलनका प्रमुख रहिसकेका निर्मोही अखाडेले पनि आपत्ति जनाएका छन्। कार्यक्रममा उनलाई पनि आमन्त्रण गरिएको छ। राष्ट्रिय जनता दलका प्रवक्ता मनोज झाले पनि महामारीका बेला आयोजना हुने यो कार्यक्रमबारे पुनर्विचार गर्नुपर्ने बताएका छन्।
राम मन्दिर शिलान्यासका लागि ५ अगष्ट १२ बजेर १५ मिनेट १५ सेकेन्डको समय निकालिएको छ। यो साइत केवल ३२ सेकेन्डको हुनेछ।