साँगाबाट उपत्यका आएका १३ मा संक्रमण पुष्टि
पूर्वी नेपालबाट काठमाडौं प्रवेश गर्ने नाका साँगामा स्वाब लिइएका मध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले उपत्यका प्रवेश नाकामा सवारी साधनका यात्रुमा गरिएको कोरोना संक्रमण परीक्षण गरेको थियो।
बन्दाबन्दीको अन्त्यपछि टोलीले उपत्यका प्रवेश गर्ने तीन नाका काभ्रेपलाञ्चोकको साँगासँगै, ललितपुरको फर्पिङ र काठमाडौंको थानकोटबाट काठमाडौं प्रवेश गर्ने यात्रुको स्वाब संकलन गरेको थियो। साँगा–नाकामा मात्रै संकलित तीन हजार ४८२ यात्रुको स्वाब संकलन गरिएका मध्ये १३ मा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए। उनका अनुसार तीन नाकाबाट करीब दश हजार यात्रुको स्वाब संकलन गरिएको थियो।
यात्रुको पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण गर्दाको रिपोर्ट पोजिटिभ आएका हो। तीन नाकामा सङ्कलित स्वाबको वीर अस्पताल, शिक्षण अस्पताल तथा टेकु अस्पतालमा परीक्षण गरिएको टोलीका सदस्य खेमराज सापकोटाले बताए।