रौतहटमा वडाध्यक्षको मृत्यु, कोरोना आशंकामा स्वाब संकलन
रौतहटको ईशनाथ नगरपालिका–५ का वडाध्यक्ष देवेन्द्र ठाकुरको मृत्यु भएको छ। दुई हप्तादेखि ज्वरो आइरहेका ५५ वर्षीय वडाध्यक्ष ठाकुरको सोमबार बिहान मृत्यु भएको हो।
हल्का खोकीरुघा सँगै श्वास फेर्न गाह्रो भएपछि उनलाई सदरमुकाम गौरस्थित रौतहट नर्सिङ होम लैजादै गर्दा बाटोमा उनको मृत्यु भएको हो।
वडाध्यक्ष ठाकुरमा कोरोना संक्रमणको आशंका गरिएको छ। कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएकाले स्वाब संकलन गरिएको उनका दाजु पूर्व मेडिकल सुपरिटेन्डेन्ट तथा रौतहट नर्सिङ होमका सञ्चालक डा. रामशंकर ठाकुरले बताए।
जिल्लामा सबैभन्दा बढी कोरोना प्रभावित स्थानीय तहमा ईशनाथ र राजपुर नगरपालिका हो। दुवै नगरपालिकाको सिमाना भारतसँग जोडिएको छ।
-सञ्जय मित्र, रौतहट