सबै शाखा खोल्न ब्यांकहरूलाई राष्ट्र ब्यांकले गर्यो परिपत्र
सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा ब्यांक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न नेपाल राष्ट्र ब्यांकले निर्देशन दिएको छ।
केन्द्रीय ब्यांकले आज ब्यांक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै ‘सिफ्ट सिस्टम’ हटाउन भनेको छ। उक्त निर्देशनपछि विगतको जस्तै नियमितरुपमा ब्यांक तथा वित्तीय संस्थाका शाखा आठ घण्टा नै सञ्चालन गर्नुपर्नेहुन्छ।
कोरोनाको सङ्क्रमण बढेको भन्दै गत ११ चैतदेखि सरकारले बन्दाबन्दी गरेपछि ब्यांक तथा वित्तीय संस्थाले सीमित सङ्ख्याका शाखा मात्रै सीमित समयका लागि सञ्चालन गरेका थिए। यस्तै पछिल्ला दिनमा उनीहरुले सिफ्ट प्रणालीमा आफ्ना शाखा सञ्चालन गरेका थिए।
ब्यांकिङ कारोवारको समयसम्म नियमितरुपमा ब्यांक तथा वित्तीय संस्थाका शाखा खोलेर सेवाग्राहीलाई सेवा दिन ब्यांकले परिपत्रमा उल्लेख गरेको छ।
केन्द्रीय ब्यांकले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण परिपालना गर्न, कार्यालयमा भीडभाड कम हुने वातावरण बनाउनसमेत निर्देशन दिएको छ। यस्तै राष्ट्र ब्यांकले विद्युतीय कारोवारलाई समेत प्रोत्साहन गर्नुपर्ने बताएको छ।