सार्वजनिक समारोह खुलेपछि मात्रै महासंघको निर्वाचन
नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ का लागि तय भएको ५४ औं वार्षिक साधारणसभा अनिश्चितकालका लागि स्थगित भएको छ।
महासंघको बिहीबार बसेको पदाधिकारी तथा पूर्व अध्यक्षहरूको बैठकले सरकारले सार्वजनिक समारोह गर्न दिएको १५ दिनपछि मात्रै साधारणसभा गर्ने निर्णय गरेको महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले बताए।
उनले भने ‘‘पूर्व अध्यक्षसहित सबै पदाधिकारीले अहिलेको अवस्थामा भीडभाड गरेर सभा–सम्मेलन गर्न नहुने नै निष्कर्ष निकालेका छन् । सोही आधारमा सरकारले सभा–सम्मेलन गर्न पूर्ण छुट दिएपछि मात्रै महासंघको निर्वाचन गर्ने निर्णय गरिएको हो।’’
महासंघको ८ साउन (बिहीबार)को निर्णयप्रति वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले भने असहमति जनाएका छन् । बैठकमा सहभागी ढकाल एक्लैले असहमति जनाएको भए पनि अरु सबैले अहिलेको अवस्थामा कोभिड–१९ को जोखिम मोलेर निर्वाचन नगर्ने भनेका थिए।
महासंघ स्रोतका अनुसार प्रदेश स्तरमा भने चुनाव गराउन सकिने विषयमा पनि छलफल भएको छ । सो विषयमा पनि निर्णय भने भइनसकेको उल्लेख छ।