लिभरपुल र चेल्सीबीचको खेलमा एन्फिल्डमा भयो आठ गोल
इङ्लिस प्रिमियर लिगमा गएराति भएको प्रतिस्पर्धामा गोलको वर्षा भएको छ। लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको निकै नै प्रतिस्पर्धापूर्ण यो खेल अन्ततः घरेलु टोलीले ५–३ गोलले जित्यो।
शुरुमै ३–० ले पछि परेको पाहुना टोली चेल्सीले उत्कृष्ट कमव्याक गर्दै एक समय खेललाई ४–३ गोलको अन्तरमा ल्याएको थियो। तर, दोस्रो हाफमा मैदान प्रवेश गरेका ओक्स्ल्याण्ड च्याम्बरलिनले काउन्टर अट्याकमा गोल गर्दै चेल्सीको कम्तीमा एक अंक बटुल्ने सपना चकनाचुर पारिदिए।
लिभरपुलका तर्फबाट च्याम्बरलिनसहित रोबर्टो फिर्मिनो, नाबि केइटा, अलेक्जेन्डर आर्नोल्ड र गिनि वाइज्नाल्डनले गोल गरे। चेल्सीका लागि भने ओलिभियर जिरुड, टमी अब्राहम र क्रिस्टियन पुलिसिकले गोल गरे।
गए रातिको यो खेल धेरै हिसाबले रोचक रह्यो। यही जितपछि लिभरपुलले घरेलु मैदानमा यसपालिको लिग उपाधि उचाल्यो। चेल्सी भने रक्षापंक्तिको पुरानै समस्या बल्झिँदा आउँदो वर्षको यूरोपेली च्याम्पियन्स लिगमा छनोट हुने निश्चित गर्न चुक्यो।
चेल्सीले शीर्ष चारभित्र रहेर च्याम्पियन्स लिगका लागि छनोट हुन अब उल्भरह्याम्टनसँग हुने अन्तिम खेल कुर्नुपर्ने भएको छ। चेल्सी अहिले अंक तालीकाको चौंथो स्थानमा छ।
आइतबार राति हुने अन्तिम खेलमा चेल्सीले उल्भरह्याम्टनलाई आतिथ्य गर्दा अर्कोतर्फ तेस्रो स्थानको म्यानचेस्टर युनाइटेड र पाँचौं स्थानको लेस्टर सिटी भिड्नेछन्।
युनाइटेडले लेस्टरलाई पराजित गरेमा चेल्सी अन्तिम खेलमा पराजित हुँदा पनि च्याम्पियन्स लिगका लागि छनोट हुनेछ। युनाइटेड र लेस्टरले बराबरी खेलेमा अन्तिम खेलमा चेल्सीले पनि बराबरी खेलेर कम्तीमा एक अंक बटुल्नुपर्नेछ।