समाचार शनिबार, असार २०, २०७७

गुल्मीमा पहिरोको वितण्डा, ५१ घर जोखिममा, दर्जनभन्दा बढी विस्थापित

हिमालखबर

गुल्मीमा पहिरोको वितण्डा, ५१ घर जोखिममा, दर्जनभन्दा बढी विस्थापित

– कमल पौडेल, गुुल्मी

बिहीबार रातिको भीषण वर्षाले ठाउँठाउँमा पहिरो जाँदा ग्रामीण सडकहरु पूर्ण रुपमा अवरुद्ध भएका छन् भने धेरै घर जोखिममा परेका छन्।

मुसिकोट नगरपालिका वडा– २ को अधिकांश क्षेत्रमा पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ।

हाँडिखोला क्षेत्रको पहिरोमा बेपत्ता भागीरथ घिमिरेको अवस्था अझै अज्ञात रहेको छ भने वडा नं. २ का विभिन्न क्षेत्रहरुमा पहिरोका कारण जनजीवन अस्तव्यस्त भएको छ।

बाँचपाटा, बुढाथोक, पात्लाकोट, दुलुङ, ढुंगेपोखरी, बोक्सीओडार, खस्थोक अमराई, आरुपाटा, बतासेडाँडा, चित्रुङ, सारुटोला, भर्जुवा, पास्ती लगायतका दर्जनौं क्षेत्रमा पहिरो खसेको छ वडा नं. २ मा मात्रै ५१ वटा घरहरु जोखिममा परेका छन्।

हाँडिखोलामा २ वटा भट्टी पुरेको छ भने ९ वटा बंगाला, ४ वटा गोठ र एउटा कुखुरा फर्ममा पूर्ण क्षति भएको छ।

पहिरोले विस्तापित भएका वडा सदस्य गोविन्द नेपाली सहितका १४ परिवारलाई नजिकैका विद्यालय तथा सुरक्षित घरमा राखिएको र बाँकी घरपरिवारलाई छिमेकीले आश्रय दिएका वडा सदस्य बाबुराम खत्रीले जानकारी दिए।

वडा नं. २ मा मात्रै ११ भैंसी, १४ बाख्रा पुरिएका वडा कार्यालयका महेन्द्र घिमिरेले जानकारी दिए।

शुक्रबारदेखि उद्धारमा प्रहरी, जनप्रतिनिधि, स्थानीय खटिएका छन्।

शनिबार सबै तथ्यांक संकलन गर्ने र आइतबार राहत वितरण गर्ने तयारी नगरपालिकाले गरेको छ।

यद्यपि रेडक्रस मार्फत अत्यावश्यक स्थानहरुमा त्रिपाल सहित केही राहत सामग्री शुक्रबार र शनिबार पनि वितरण गरिने स्रोतले जनाएको छ।

उता वडा नं. १ मा मुख्य बाहेक सबै शाखा सडक अवरुद्ध भएका छन्। आरुचौर जाने सडक पूर्णरुपमा अवरुद्ध भएको छ। यता वडा नं. ७ मा पर्ने खर्वाङ वामीटक्सार सडक अन्तर्गत पल्टारमा अवरुद्ध सडक पुन:शुरु भएको छ।

विद्युत, संचार सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ भने अधिकाशं ठाउँमा खानेपानी समेत अवरुद्ध भएको छ।

प्रतिकृया दिनुहोस