समाचार बुधबार, जेठ २१, २०७७

पर्सामा व्यवसायलाई वर्गीकरण गरी बिहीबारदेखि सञ्चालन गर्न दिइने

हिमालखबर

पर्सामा व्यवसायलाई वर्गीकरण गरी बिहीबारदेखि सञ्चालन गर्न दिइने
फाइल तस्वीर।

पर्सा जिल्ला प्रशासनले बिहीबारदेखि व्यवसायलाई वर्गीकरण गरी सञ्चालन गर्न पाउने नियम लागू गर्ने भएको छ । बुधबार बसेको जिल्ला संकट व्यावस्थापन केन्द्रको बैठकले लामो समयदेखिको बन्दाबन्दीका कारण समग्र अर्थतन्त्रमा परेको असरलाई मध्यनजर राख्दै बिहीबारबाट व्यवसाय सञ्चालनको अनुमति दिइएको जनाएको छ।

व्यवसायहरूलाई नियमित र २४ घण्टा खुला रहने, जोर र बिजोर गतेमा खुल्ने र पूर्ण रुपमा बन्द गर्ने गरी चारवटामा वर्गीकरण गरिएको छ। 

औषधि पसललाई २४ घण्टा, ब्यांक तथा वित्तीय संस्थालाई नियमित, अत्यावश्यक तथा खाद्यन्न र फलफूल पसल बिहान ५ देखि ९ बजेसम्म खुल्न दिने भएको छ।

त्यसैगरी कपडा, कस्मेटिक, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स लगायतका पसल बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म जोर गतेका दिन सञ्चालन गर्ने अनुमति दिएको छ।

साथै हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस्, अटोवर्क्स , भाँडाबर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसल बिजोर गतेका दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय पर्सा जिल्ला प्रशासनले गरेको छ।

यससँगै सिनेमा हल, जिमखाना, होटल, रेष्टुरेन्ट, चियापसल, मदिराजन्य पसल, धार्मिक स्थलका साथै मानिसहरूको भिडभाड हुने र सार्वजनिक तथा भाडाका सबै सवारी साधन पूर्ण रुपमा बन्द हुनेछन् ।

प्रतिकृया दिनुहोस