संघीयता खारेजीको मागसहित संविधान संशोधन विधेयक दर्ता
लगातार संविधान संशाेधन दर्ता हुने क्रममा बुधबार राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै संविधान संशोधन विधेयक दर्ता गरेको छ । जनमोर्चाकी सांसद दुर्गा पौडेलले बुधबार गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गरेकी हुन्।
सरकारले नेपालको नक्शा अनुसार निशान छापमा रहेको नक्शा सच्याउन संविधान संशोधन विधेयक दर्ता गरेपछि आइतबार जनता समाजवादी पार्टी र मंगलबार नेपाली कांग्रेसका ८ जना सांसदले पनि विधेयक देता गराएका थिए । यो संसदमा दर्ता भएको संविधान संशोधनको चौथो विधेयक हो।
जनमोर्चाले संविधानमा रहेको संघीयताको व्यवस्था हटाउनुपर्ने भन्दै मुलुकको विकास नहुनुको प्रमुख कारक संघीयता रहेको विधेयकमा उल्लेख गरेको छ।
जनमोर्चाले संघीयताको विरोध गर्दै खारेज गरी स्थानीय निकायलाई बलियो बनाउने गरी अधिकार प्रदान गर्नुपर्ने धारणा राख्दै आएको छ।