जेठ २५ भित्र कर तिर्न सरकारले गरेको ताकेताको भद्र अवज्ञा गर्न देउवाको आह्वान
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २५ जेठभित्र कर चुक्ता गर्न सरकारले गरेको ताकेताको भद्र अवज्ञा गर्न आह्वान गरेका छन्।
बन्दाबन्दीका कारण व्यवसायीहरुले चुनौती भोगिरहेका वेला सरकारले तत्काल कर बुझाउन गरेको ताकेता व्यावहारिक नभएको देउवाले बताएका छन्। कोरोनाभाइरस महामारी र यसको रोकथामका लागि घोषित बन्दाबन्दीका बीच आन्तरिक राजस्व विभागले यही २५ जेठभित्र कर चुक्ता नगरे जरिवाना लाग्ने सूचना जारी गरेको थियो।
कांग्रेस सभापति देउवाले व्यवसायीहरुले जटिलता भोगिरहेका वेला आवश्यक नीति र राहत योजना ल्याउनुको साटो सरकारले बन्दाबन्दीको वेला कर तिर्न ताकेता गरेर नागरिकको पीडाप्रति असंवेदनशीलता देखाएको टिप्पणी समेत गरेका छन्।
देउवाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, "नागरिकले तिर्ने करले नै मुलुक चल्ने हो, तर करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सहजीकरण गर्ने कर्तव्य र जिम्मेवारी सरकारको हो। सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नु भन्दा अर्को विकल्प नागरिकको रहँदैन।"
उनले ताकेता तत्काल फिर्ता लिएर करदातालाई कर तिर्ने समयावधि थप गर्न सरकारसँग माग गरेका छन्।
कोरोनाभाइरसका कारण नागरिकको जीवन र मुलुकको अर्थतन्त्रले चुनौती भोगिरहेका वेला अनावश्यक खर्च घटाउन गर्नुपर्ने निर्णय र कार्यमा सरकार गम्भीर नभएको पनि देउवाले आरोप लगाएका छन्। सरकारलाई समयको गम्भीरताप्रति गम्भीर बन्न र बन्दाबन्दीका कारण मुलुकको समग्र क्षेत्रमा परेको असरको मूल्याकंन गरेर अघि बढ्न पनि उनले आग्रह गरेका छन्।