रिपोर्ट बुधबार, जेठ २१, २०७७

कोरोनाभाइरसका नाममा करोड बजेटः क्वारेन्टिनमा छैन खानेपानी र शौचालय

हिमालखबर

कोरोनाभाइरसका नाममा करोड बजेटः क्वारेन्टिनमा छैन खानेपानी र शौचालय
मुसिकोट नगरपालिका–२ को रुद्रावती प्राथमिक विद्यालयमा खानेपानी, धारा, बिजुलीको राम्रो प्रबन्ध नगरी बनाइएको क्वारेन्टिनमा भारतबाट फर्केर बसिरहेका श्रमिकहरु । तस्वीरहरुः कमल पौडेल

रामु सापकोटा कमल पौडेल, खोज पत्रकारिता केन्द्र

गुल्मी र बाग्लुङमा स्थानीय तहले बनाएका क्वारेन्टिनको अवस्था यति दयनीय छ कि त्यहाँ खाने, सुत्ने राम्रो प्रबन्ध त छैन नै, शौचालय र खानेपानी समेत छैन ।

गुल्मीको मुसिकोट नगरपालिका–१ का केशव घिमिरे गएको ९ जेठदेखि श्रीमती र बिरामी छोरासँग स्थानीय सिद्ध प्राविको दुईकोठे क्वारेन्टिनमा बसिरहेका छन् । केही समयअघि ९ वर्षका छोरा सुशासनलाई ट्याक्टरले ठक्कर दिएपछि उपचारका लागि उनीहरु झण्डै दुई महीना ललितपुरको बी एण्ड बी अस्पतालमा बसे । बन्दाबन्दीमा अस्पतालमै राखेर छोराको उपचार गराए । काठमाडौँबाट फर्किएपछि मुसिकोट नगरपालिकाले उनलाई अनिवार्य रूपमा १४ दिनसम्म क्वारेन्टिनमा बस्न भनेको छ ।

उक्त क्वारेन्टिनमा घिमिरे परिवार बाहेक कोही छैन । तर, उनीहरुले आधारभूत सुविधा समेत पाएका छैनन् । न क्वारेन्टिन सरसफाइ गर्न सफाइ कर्मचारी राखिएको छ, न त स्वास्थ्यकर्मी नै । खानेपानी र शौचालय पनि छैन ।

गुल्मीको मुसीकोट नगरपालिका १ को सिद्ध प्राविको क्वारेन्टीनमा स्थानीय केशव घिमिरे आफ्नी पत्नी र बिरामी छोराका साथ बस्दै ।

नाममात्रको त्यो क्वारेन्टिनमा घिमिरे परिवारले आफ्नै खर्चमा आफैं पकाएर खान्छन् । सुत्ने ओछ्यान समेत घरबाटै ल्याएका छन् । नगरपालिकाले खाने–बस्ने सामान्य व्यवस्था समेत नगरेको घिमिरेको गुनासो छ । उनले बिरामी छोरालाई पोषिलो खानेकुरा खुवाउन पाएका छैनन् ।

सिद्ध प्राविको क्वारेन्टिन प्रमुखको जिम्मेवारी नगरपालिकाले उक्त विद्यालयकी प्रधानाध्यापक सपना घिमिरेलाई दिएको छ । नगरपालिकाले बजेट नदिएकोले क्वारेन्टिनमा राखिएकालाई खाना, पानी र शौचालयको व्यवस्था गर्न नसकेको उनी बताउँछिन् । घिमिरे भन्छिन्, “क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि नआएकाले मानिसहरूको भीड लाग्ने गरेको छ । त्यसबाट कोरोना संक्रमणको जोखिम अरू बढेको छ ।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको ‘कोभिड–१९ का शंकास्पद बिरामी राख्ने क्वारेन्टिनको व्यवस्थापन निर्देशिका’ अनुसार संक्रमणबाट जोगिन क्वारेन्टिनमा पर्याप्त भौतिक दूरी कायम राखिनु पर्छ । प्रति १०० जनासम्मका लागि स्वास्थ्य सामग्रीसहित एक चिकित्सक, एक नर्स र एक प्यारामेडिक्स उपलब्ध हुनुपर्छ ।

ज्वरो समेत नजाँची मुसीकोट नगरपालिका १ को थामडाडास्थित सरस्वती माविको क्वारेन्टीनमा राखिएका भारतबाट फर्किएका श्रमिकहरु ।

क्वारेन्टिनमा राखिएका व्यक्तिको कम्तीमा दिनको दुई पटक स्वास्थ्य परीक्षण गर्ने, आवश्यक परामर्श दिने र आवश्यकता अनुसार स्वास्थ्य सेवाका लागि रेफरको व्यवस्था मिलाउनुपर्छ । प्रत्येक क्वारेन्टिनमा कम्तीमा एक किलो तौलको अक्सिजन सिलिण्डर अनिवार्य उपलब्ध हुनुपर्छ ।

यस्तै बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र दीर्घरोगीका लागि आवश्यक स्वास्थ्य सेवा र औषधिको व्यवस्था गरिनुपर्छ । क्वारेन्टिनमा कम्तीमा तीन जना सरसफाइ गर्ने कर्मचारीको व्यवस्था हुनुपर्छ । सुत्ने खाटको दूरी न्यूनतम एक मिटर कायम गरिनुपर्छ । स्थानीय आवश्यकता अनुसार झुलको व्यवस्था र क्वारेन्टिनमा राख्नुपूर्व अनिवार्य स्वास्थ्य जाँच गर्नुपर्ने लगायत व्यवस्था पनि निर्देशिकामा छ ।

तर गुल्मी र बाग्लुङका स्थानीय तहका अधिकांश क्वारेन्टिन भद्रगोल छन् । स्वास्थ्य मन्त्रालयको निर्देशिका पालन गर्नु त पर, अधिकांश क्वारेन्टिन नाम मात्रका छन् । यी क्वारेन्टिन नै कोरोनाभाइरस संक्रमण विस्तारको माध्यम बन्ने जोखिम बढ्दो छ ।

गुल्मीको मुसिकोट नगरपालिका–१ कै थामडाँडास्थित सरस्वती माविमा बनाइएको क्वारेन्टिनमा ११ जनालाई राखिएको छ । १२ र १३ जेठमा भारतबाट फर्किएका उनीहरुको स्वास्थ्य जाँच नै गरिएन ।

भारत र नेपालका प्रमुख शहरहरुबाट बाग्लुङ र गुल्मी जिल्ला फर्किदै गरेका स्थानियहरु बाग्लुङको खर्वाङ नाकामा।

सरस्वती माविमै सञ्चालित थामडाँडा शहरी स्वास्थ्य केन्द्रमा कार्यरत अनमी धीरेन्द्रकुमारी सेबुर्जा मगरका अनुसार उनीहरुलाई ज्वरो समेत जाँच नगरी क्वारेन्टिनमा राखिएको छ । उनी भन्छिन्, “नगरपालिकाले दिएको एउटा थर्मल गन पनि बिग्रिएर चलाउनै पाएका छैनौं । भएका एक–एक थान स्वास्थ्य सुरक्षा सामग्री पिपिई पनि धोएर पुनः प्रयोग गरिरहेका छौं ।”

त्यहाँ १५ जेठसम्ममा भारतबाट आएका अरु १८ जनालाई राखिएको छ । भारतको होसियारपुरबाट आएर सरस्वती मावि क्वारेन्टिनमा बस्दै आएका गोविन्द भट्टराई एउटै धारा र शौचालय प्रयोग गर्नुपरेको बताउँछन् । सुत्नका लागि राम्रो व्यवस्था पनि नगरिएको उनको गुनासो छ । “हामी सबै एकै ठाउँमा बस्छौं, खान्छौं, क्वारेन्टिनमा प्रवेश गर्नुअघि कसैको पनि ज्वरो जाँचिएन”, उनी भन्छन् ।

सरकारले दुई वर्षअघि प्रत्येक गाउँ र नगरपालिकामा एक एमबीबीएस चिकित्सक अनिवार्य खटाउने नीति लिएको थियो । उक्त नीति कागजमै सीमित छ । त्यसैले स्थानीय तहलाई यति वेला कोरोना नियन्त्रण र रोकथामका न्यूनतम जनशक्तिको समेत खाँचो छ । स्वास्थ्य मन्त्रालयको नीति तथा योजना शाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा.गुणनीधि शर्मा भन्छन्, “एक पालिका एक चिकित्सकको नीति सफल हुन सकेन । त्यसैले कोरोनाको कहरमा स्थानीय तहलाई ठूलो सकस परेको छ ।”

बाग्लुङको खर्बाङमा भारतबाट फर्किएका श्रमिकहरु ।

मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा कोरोना संक्रमितको उपचार गर्न एउटा नगरस्तरीय आइसोलेसन वार्ड र ९१ वटा क्वारेन्टिनमा चिकित्सक, नर्स लगायतका दक्ष कर्मचारी नहुँदा समस्या परेको बताउँछन् । “प्रदेश सरकारसँग कम्तीमा एक जना एमबीबीएस चिकित्सक उपलब्ध गराइदिन अनुरोध गरिएको हो । तर अहिलेसम्म कोही आएको छैन ।”

नगरपालिकाले क्वारेन्टिन निर्माण, राहत वितरणलगायत कोरोना रोकथाम तथा नियन्त्रणका लागि करीब रु.१ करोड बजेट विनियोजन गरेको छ । रु.१ करोडमध्ये नगरपालिकाले २१ सय ६२ परिवारलाई राहत दिन रु.४० लाख ६५ हजार र क्वारेन्टिन व्यवस्थापन र स्वास्थ्य सामग्री खरीदमा रु.२० लाख खर्च गरिसकेको छ । तर नगरका अधिकांश क्वारेन्टिनको अवस्था नाजुक छ ।

सरस्वती मावि क्वारेन्टिन प्रमुख बनाइएका शिक्षक विष्णुप्रसाद खरेल यहाँ बस्नेहरूका लागि अलग धारा र शौचालय नभएको बताउँछन् । “नगरपालिकाले हेरचाहका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाउन सकेको छैन” खरेल भन्छन्, “उनीहरू चाहे भने सजिलै भागेर बाहिर जान पनि सक्छन् । यसले समुदायमा संक्रमण फैलिने जोखिम छ ।”

खरेल आफूलाई नगरपालिकाले क्वारेन्टिन व्यवस्थापनबारे तालिम नदिएको र पर्याप्त बजेट पनि उपलब्ध नगराएको बताउँछन् । त्यहाँ बस्नेहरूले खाने–बस्ने व्यवस्था आफैंले गरिरहेका छन् । खाट नहुँदा भुईंमै सुत्छन् ।

मुसिकोट नगरपालिका–२ को रुद्रावती र स्वयंसेवी प्राथमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा पनि स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड लागू छैन । त्यहाँ १६ जेठसम्म भारतबाट आएका १० जना राखिएको छ । अलग धारा र शौचालय छैन । भारतको गुडगाउँबाट फर्किएर रुद्रावती प्राविको क्वारेन्टिनमा बस्दै आएका सुनिल राना मुसिकोट आउँदासम्म कतै पनि आफ्नो स्वास्थ्य जाँच नभएको बताउँछन् । “खाना खाने सामग्री घरबाटै आउँछ” उनी भन्छन्, “यहाँ सबैले एकै ठाउँमा दाउरामा पकाएर खान्छौं ।”

क्वारेन्टिन प्रमुखको जिम्मेवारी दिइएका रुद्रावती प्राविका प्रधानाध्यापक भेषबहादुर नेपाली भारतबाट आएकाहरूले आफ्नो घरबाटै खाने व्यवस्था गरेको र लत्ता–कपडा ल्याएर सुत्ने गरेको बताउँछन्् । उनी भन्छन्, “यहाँको क्वारेन्टिनमा बस्नेले सबै व्यवस्था आफैंले गर्नु परेको छ ।”

गुल्मीको छिमेकी जिल्ला बाग्लुङको गल्कोट नगरपालिका–११ मनेवामा रहेको मनेवा आधारभूत विद्यालयमा बालबालिका सहित नौ जनालाई क्वारेन्टिनमा राखिएको छ । भारतबाट आएर क्वारेन्टिनमा बसेका सुजन बस्याल अहिलेसम्म आफ्नो ज्वरो पनि जाँच नगरिएको गुनासो गर्छन् ।

मनेवा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर थापालाई क्वारेन्टिन व्यवस्थापनको जिम्मा दिइएको छ । उनी खानेपानी, शौचालय, खानपानको व्यवस्थापन गर्न सकस परेको बताउँछन् । थापा भन्छन्, “क्वारेन्टिन स्थलमा खट्ने स्वयंसेवकलाई चाहिने पञ्जा, मास्क, स्यानिटाइजर, औषधि लगायत स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउन नगर र वडाबाट पहल नै भएन ।”

गुल्मीको मुसिकोट नगरपालिकाको सरस्वती माविमा अव्यवस्थित क्वारेन्टीन बनाइएपछि त्रासमा रहेका स्थानियहरु ।

बाग्लुङको गल्कोट नगरपालिका–११ रिघाको रत्नलक्ष्मी माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा १७ जनालाई राखिएको छ । घुँडाको उपचार गरी फर्किएका थमबहादुर विक भारतबाट एउटै गाडीमा ४२ जनालाई कोचेर क्वारेन्टिनस्थल ल्याइएको बताउँछन् । उनी भन्छन्, “धेरै जनालाई एउटै कोठामा कोचेर राखिएको छ । सबैले एउटै धारा र शौचालय प्रयोग गर्नु परेको छ ।”

उक्त क्वारेन्टिनस्थल व्यवस्थापनको जिम्मा पाएकी आशा श्रीस राना योजना बिना नै बनाएका कारण व्यवस्थापन गर्न कठिनाइ भएको बताउँछिन् । “क्वारेन्टिनमा बसिरहेकाहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउन पर्याप्त खाजा, खाना चाहिन्छ, तर अहिलेसम्म खाजाको व्यवस्था नै गर्न सकिएको छैन”, उनी भन्छिन् ।

मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डीबी जिसीका अनुसार नगरपालिकामा मात्र आठदेखि १७ जेठसम्म भारतबाट सुनौली नाका हुँदै ३९३ जना भित्रिसकेका छन् । यसअघि गएको १–१५ चैतसम्म भारतबाट ३७५ र तेस्रो मुलुकबाट ३३ जना आएका थिए । नगरपालिकाले उनीहरूलाई कोरोना जाँच र १४ दिन क्वारेन्टिनमा नराखी घर पठाएको थियो । ३२ हजार ८०२ जनसंख्या रहेको नगरपालिकामा भारतबाट थप एक हजार हाराहारी आउने अनुमान छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार ११ चैतदेखि १५ जेठसम्म भारतबाट स्थानीय तहलाई जानकारी गराएर एक हजार ४०० नागरिक गुल्मी भित्रिएका छन् । जिल्लाभर भएका क्वारेन्टिनमा दुई हजार ९०० वटा बेड छन् । तर, यहाँ बस्नेहरूले लुगा, खाना जस्ता न्यूनतम सुविधा पनि आफैंले जोहो गर्नु परेको छ ।

मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा क्वारेन्टिनमा छुट्टा–छुट्टै शौचालय, धारालगायत स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूरा गर्न नसकिने बताउँछन् । विद्यालयलाई क्वारेन्टिनस्थल बनाइएका कारण भारतबाट ठूलो संख्यामा आएका कामदारलाई तोकिएको मापदण्ड अनुसार राख्न नसकेको उनी बताउँछन् । “डब्लूएचओले बनाएको मापदण्डलाई नै सरकारले क्वारेन्टिन स्थलको मापदण्ड बनाएकाले समस्या उत्पन्न भएको हो” सापकोटा भन्छन्, “सरकारले स्थानीय तहमा उपलब्ध स्रोत–साधन अनुसारको वस्तुगत मापदण्ड नबनाएकाले यो कार्यान्वयन हुन नसकेको हो ।”

भारत र नेपालका प्रमुख शहरहरुबाट बाग्लुङ र गुल्मी जिल्ला फर्किदै गरेका स्थानीयहरु ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी भारतबाट ठूलो संख्यामा कामदार फर्किरहेको अवस्थामा उनीहरूलाई राख्ने क्वारेन्टिन मन्त्रालयले तोकेको मापदण्ड अनुसार नभएकैले त्यहाँका गाउँ प्रकोपको केन्द्रस्थल बन्ने खतरा रहेको बताउँछन् । उनी भन्छन्, “भारतबाट फर्किएकाहरूलाई ज्वरो अनिवार्य जाँचेर मात्र क्वारेन्टिनमा राख्नुपर्छ र के–कस्तो खानेकुरा सेवन गर्ने र कसरी बस्ने भन्ने बारेमा परामर्श दिनुपर्छ ।”

टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला विद्यालयमा बनाइएका अव्यवस्थित क्वारेन्टिनमा राख्दा क्षयरोग, झाडापखाला, मलेरिया, डेंगू जस्ता रोगहरूको प्रकोप फैलिन सक्ने भएकाले घरमै व्यवस्थित क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउनुपर्ने बताउँछन् । डा. बास्तोला भन्छन्, “लक्षण देखिएका व्यक्तिको कोरोना परीक्षण गरी जाँच–पड्ताल गरेर उपचार गर्ने व्यवस्था मिलाउनुपर्छ ।”

प्रतिकृया दिनुहोस