डा.केसीद्वारा दार्चुलामा १८औं अनशन शुरु
चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका डा.गोविन्द केसी मंगलबारदेखि दार्चुला सदरमुकाम खलंगामा अनशन बसेका छन्।
यसअघि १९ जेठमा डा. केसीले विज्ञप्ति जारी गर्दै २० देखि २१ जेठसम्म तीन बुँदे माग राख्दै अनशन बस्ने घोषणा गरेका थिए।
१८औं अनशन शुरु गरेका उनले दार्चुला लगायत सीमा क्षेत्रमा रहेका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारी व्यवस्था गर्नुपर्ने माग राखेका छन्।
भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गर्नुपर्ने, गण्डकी प्रदेश लगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अगाडि बढाउनुपर्ने उनको माग छ।
उनले गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउनुपर्ने तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गर्नुपर्ने र बिगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्।
“जेहेन्दार विद्यार्थी निःशुल्क रुपमा पढ्ने व्यवस्था मिलाएर दूरदराजका प्राथमिक स्वास्थ्य केन्द्रसम्म परिचालन गरेर सेवाको पहुँच बिस्तार गर्न सकिन्छ”, मंगलबार अनशन बस्नुअघि डा. केसीले विज्ञप्ति जारी गर्दै भनेका छन्, “त्यसो गर्नुको सट्टा राज्यले स्वास्थ्य र मेडिकल शिक्षामा अन्धाधुन्द व्यापारीकरण गर्दा सुदूरपश्चिमको दार्चुला लगायतका जिल्लाहरुमा सामान्य स्वास्थ्य सेवाका लागि समेत भारतमा भर पर्नुपर्ने अवस्था छ ।”