नेपाल फर्कन चाहनेलाई राजदूतावासमा विवरण बुझाउन आह्वान
नेपाल फर्किन चाहने नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ।
मन्त्रिपरिषदको १२ जेठको निर्णय बमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङ्क्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याइँदैछ।
कोभिड–१९ महामारीको परिणामस्वरुप बन्दाबन्दीको कारणले नेपाल फर्कन नपाएका र छिट्टै नेपाल फर्कनुपर्ने बाध्यतामा रहेका बेलायत, आयरल्याण्ड र माल्टामा रहेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा नेपाल फर्कने व्यवस्था गर्न लागिएको राजदूतावासले जानकारी गराएको छ।
नेपाल फर्कन चाहनेले आफ्नो नाम, राहदानी नम्बर, स्थायी ठेगाना, नेपाल फर्केपछि बस्ने ठेगाना खुलाउनुपर्नेछ। स्वदेश फर्किएपछि कुन स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिन बस्ने भन्ने पनि खुलाउनुपर्नेछ।
गैरआवासीय नेपाली सङ्घ बेलायतले सङ्कलन गरेको नेपाल फर्कन चाहने नेपालीको विवरण पनि राजदूतावासलाई बुझाइएको छ। सूचना जारी भएपछि पनि नेपाल जान इच्छुकले राजदूतावास वा गैरआवासीय नेपाली सङ्घमा विवरण पठाउन सकिने उल्लेख गरिएको छ।