स्थानीयको अगुवाइमा बन्यो सशस्त्र प्रहरीको ब्यारेक
स्थानीयबासीको अगुवाइमा मोरङको बेलबारी नगरपालिका ७ बाहुनीमा रु. २ करोड ६० लाखको लागतमा सशस्त्र प्रहरीको ब्यारेक निर्माण भएको छ ।
स्थानीयको लगानीमा ११ कट्ठा १२ धुर क्षेत्रफल जग्गामा बेस क्याम्प निर्माण गरिएको हो । २०६३ चैतमा स्थापना भएको बेस क्याम्पलाई स्थायी रुपमा राख्न गाउँलेले पहल गरेर २०६९ फागुनमा पुराण लगाएका थिए । पुराणबाट संकलित रु.१ करोड १६ लाखमा जमिन खरीद गरिएको थियो ।
सशस्त्रका ३ नम्बर गण हेडक्वार्टर मोरङका उपरीक्षक नेत्रबहादुर कार्कीले स्थानीय तारावीर कटुवालको नेतृत्वमा लगाइएको पुराणबाट उठेको रकमले सशस्त्रको क्याम्प राख्न जग्गा खरीद भएको बताए । त्यही जमिनमा रु. १ करोड ४४ लाखको लागतमा भवन निर्माण गरिएको छ।
बेलबारी नगरका मेयर ज्ञानेन्द्र सुवेदी र सशस्त्रका नायब महानिरीक्षक नगेन्द्रबहादुर थापाले संयुक्त रुपमा बेस क्याम्पको सोमबार उद्घाटन गरे ।
नवनिर्मित बेस क्याम्पमा ब्यारेक, बेसपति निवास, प्रवेशद्वार, पुल, ब्याडमिन्टन कोर्ट, गोलघर, पाहुनाघर रहेको छ । स्थानीयले बनाएको बेस क्याम्पको उद्घाटन गर्दै डीआईजी थापाले सुरक्षा फौजप्रतिको जनताको माया यो भवनले दर्शाएको बताए ।
भवन निर्माणका लागि स्थानीयको रु २१ लाखको जनसहयोग, स्थानीय कमल गोयल र जय तामाङबाट रु.२८ लाख, बुद्ध एयर प्रालिबाट रु.१० लाख, पूर्व राज्यमन्त्री दिलीप गच्छदारको कोषबाट रु.२० लाख, बेलबारी नगरपालिकाबाट रु.३६ लाख, प्रदेश १ का राज्यमन्त्री विजय विश्वासको कोषबाट रु.१० लाख, स्थानीय धनराज र बालकुमारी गजमेरबाट रु २ लाख ५० हजार सहयोग प्राप्त भएको थियो।
कमल रिमाल/विराटनगर