अस्पतालको बेडबाट वाजिदले गाएका थिए- दबंग दबंग…
बलिउडका संगीतकार तथा गायक वाजिद खानको ४२ वर्षको उमेरमा सोमबार निधन भएको छ।
मिर्गौलाको समस्याबाट पीडित उनी एक साताअघि कोरोनाभाइरसबाट पनि संक्रमित भएका थिए। उनको निधनमा अमिताभ बच्चन, अक्षय कुमार, सलमान खान, प्रियंका चोपडा, वरुण धवन लगायत बलिउडका कलाकारहरुले ट्वीट गरेर शोक प्रकट गरेका छन्।
यसैबीच, वाजिदको एउटा भिडियो इन्टरनेटको सामाजिक सञ्जालमा छाएको छ। जसमा उनले आफ्ना दाइ साजिद खानका लागि सलमान खानको फिल्म 'दबंग' को शीर्ष गीत गाइरहेको देखिन्छ। अस्पतालको बेडमा जिउमा स्लाइनको सुई उनिएको अवस्थामा उनले मुस्कुराउँदै दाइप्रति प्रेम दर्शाएर 'दबंग दबंग' गाएका छन्।
यो भिडियो नयाँ नभई केही समय अगाडिकै भएको बताइएको छ। उनलाई दुई महीनायता पूर्वी मुम्बईको चेम्बुरस्थित सुराना सेतिया अस्पतालमा भर्ना गरिएको थियो।
बलिउड संगीतमा साजिद-वाजिदको जोडी निकै चर्चित छ। तर, वाजिदको निधनसँगै यो जोडी अधुरो भएको छ। यी दुई सहोदर दाजुभाइ हुन्।
साजिद-वाजिदको जोडीले सन् १९९८ मा 'प्यार किया तो डरना क्या' फिल्मबाट बलिउडमा संगीत कम्पोजको यात्रा शुरु गरी ७० भन्दा बढी फिल्ममा काम गरेका छन्। साथै, वाजिदले कैयौं गीत पनि गाएका छन्। - एजेन्सी
सम्बन्धित समाचार- कोरोना संक्रमणबाट बलिउड संगीतकार वाजिद खानको निधन