अर्थमन्त्रीको जवाफ– कृषिको बजेट अन्य मन्त्रालयहरुमा पठाइएको छ
अर्थमन्त्री युवराज खतिवडाले कृषिलाई समग्रतामा हेर्नुपर्ने बताएका छन्। बजेट छलफलमाथि कृषि क्षेत्रमा अपेक्षित बजेट विनियोजन नभएको प्रश्न सांसदहरुले उठाएपछि अर्थमन्त्री खतिवडाले साँघुरो दृष्टिले कृषिलाई हेर्न नहुने बताएका छन्।
“कृषि भनेको कृषि सामग्री मात्रै होइन । कृषि भनेको भूमि हो। भूमि व्यवस्थाका लागि भूमि व्यवस्था मन्त्रालयमा बजेट छ”, उनले भने।
भूमि ब्यांकको बजेट कृषि मन्त्रालयमा नजाने बताए। “हाटबजार विकास गर्ने कुरा होओस्, त्यहाँ बीज पूँजी दिने कुरा होओस्। चाहे त्यो शीत भण्डार गर्ने कुरा होओस्। त्यो बजेट सहकारी तथा गरीबी निवारण मन्त्रालयमा छ”, अर्थमन्त्री खतिवडाको जवाफ छ।
कृषिका लागि नभइ नहुने कुरा सिंचाईको बजेट पनि कृषिमा नगई सम्बन्धित मन्त्रालयमा पठाइएको उनले बताए। “कृषिको आधुनिकरण र यान्त्रीकरणका लागि नभइ नहुने कुरा विद्युत हो। त्यो बजेट उर्जा मन्त्रालयमा गएको छ”, उनले बताए।
कृषिको बजेट सिंचाइ मन्त्रालयमा समेत रहेको उनले बताए। “कृषिको भण्डारण, प्रशोधन, बजारीकरणको कुरा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा छन्। अनि, ग्रामिण सडकको कुरा पूर्वाधार मन्त्रालयमा छन्”, अर्थमन्त्री खतिवडाले भने।
जनशक्ति उत्पादनको बजेट कृषि क्याम्पसका लागि विनियोजन गरिएको उनले जवाफ दिए। यसरी सवै गरी कृषि विकासका लागि ८० अर्ब जति विनियोजन गरिएको अर्थमन्त्री खतिवडाको दावी छ।
मन्त्रालयगत प्रशासनिक रुपमा मात्रै कृषिमा थोरै बजेट देखिएको उनले बताए। स्थानीय र प्रदेश सरकारले पनि कृषिमा बजेट विनियोजन गर्ने उनले बताए। “संघीयता कार्यान्वयनमा निपेक्षीकरण भइरहेको क्षेत्र मध्ये कृषि एक हो”, खतिवडाले भने।
बजेट भाषणकै क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग स्वास्थ्य मन्त्रालयमा लगिएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले बजेट प्रति असन्तुष्टि जनाएका छन्। उनले आफूले ल्याएको कृषि क्षेत्रको पुनर्संरचना गर्नेगरी बजेट नआएको भन्दै असन्तुष्टि जनाएका छन्।