संसदलाई हेरेर लाज पनि लजायोः गगन थापा
नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले पश्चिम रुकुम लगायत देशभर भएका दलित हत्या, आत्महत्या र बलात्कारको घटनाहरुको छानबिन पनि सर्वदलीय संसदीय समिति गठनको माग गरेका छन्।
प्रतिनिधिसभा बैठकको शून्य समयमा थापाले पश्चिम रुकुमको घटनाले सवैको अनुहारमा कालो पोतिएको टिप्पणी गरेका छन्। उनले भने, “स्वतन्त्रताको हक, समानताको हक, आत्मसम्मान पूर्वक बाँच्न पाउने हक, मर्यादित जीवन जीउन पाउने हक, छुवाछुत तथा भेदभाव विरुद्धको हक देखि दलितको हकसम्म संविधान लेख्यौं र कानून बनायौं भनेर गर्व गरिरहँदा रुकुम पश्चिमको नरसंहारले सवैको अनुहारमा कालो पोतिएको छ।”
थापाले पश्चिम रुकुमको अमानवीय र क्रुर घटनालाई भवितब्य भनी देखाउन प्रयत्न भइरहेको आरोप लगाए। एनले भने, “सहायक कारणहरु देखाएर यो घटनाको जरामा रहेको उच्च अहङ्करको धाकछोप गर्न भइरहेको संगठित प्रयत्न र राज्यको लाचारीलाई यो संसदले टुलुटुलु हेरेर बसिरहँदा लाज पनि हामीसँग लजाएको छ।”
सांसद थापाले अनुहारमा लागेको दाग ऐना पुछेर नजाने बताए। उनले बन्दाबन्दीकै अवधिमा रुकुम नरसंहार ३२ जना दलितहरुको हत्या, आत्महत्या र बलात्कारमा परेका बताए।
यी घटनाहरुको छानबिन गर्न अविलम्ब सर्वदलीय संसदीय छानबिन हुनुपर्ने उनको माग थियो। “सर्वदलीय संसदीय समिति गठन नभएसम्म न्याय मागिरहनेछौं, लडिरहनेछौं, बोलिरहनेछौं।”