डा. गोविन्द केसी दार्चुलामा दुई दिन अनशन बस्ने
चिकित्सा शिक्षा सुधारको माग राखेर यसअघि पनि आन्दोलन गरेका डा. गोविन्द केसी तीन बुँदे माग राखेर मंगलबारदेखि दुई दिन दार्चुला सदरमुकाम खलंगामा फेरि अनशन बस्ने भएका छन्।
डा. केसीले सोमबार विज्ञप्ति जारी गर्दै २० देखि २१ जेठसम्म अनशन बस्ने जानकारी दिएका छन्। यो उनको १८ औँ अनशन हुनेछ।
उनले दार्चुला लगायत सीमा क्षेत्रमा रहेका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण तथा गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारी व्यवस्था गर्नुपर्ने माग राखेका छन् । त्यस्तै भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गर्नुपर्ने, गण्डकी प्रदेश लगायत डडेलधुरा, बर्दिबास, उदयपुर, इलाम लगायत ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने उनको माग छ।
“गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याइयोस् तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गरियोस्,” विज्ञप्तीमा भनिएको छ, “हामीसँग यसअघि भएका सम्झौता कार्यान्वयन गरियोस्।”