आजबाट भारतमा ६८ दिन लामो बन्दाबन्दी हट्दै, संक्रमित र मृतक भने बढेको बढ्यै
संक्रमित र मृतकको संख्या बढ्दै गए पनि भारतले ६८ दिन लामो बन्दाबन्दी हटाउँदै जाने निर्णय गरेको छ । तर, केही दिनअघि बन्दाबन्दी खुकुलो बनाएको भारतमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएको छ ।
भारतमा लगातार तेस्रो दिन २०० भन्दा बढीको मृत्यु भएको छ । आइतबार त्यहाँ २२३ जनाको मृत्यु भयो । शनिबार २०५ र शुक्रबार २६९ जनाको मृत्यु भएको थियो । त्यसअघि भने दैनिक मृत्यु हुनेको संख्या २०० नाघेको थिएन ।
भारतमा तीन दिनदेखि दैनिक संक्रमित पनि आठ हजारमाथि भेटिएका छन् । आइतबार आठ हजार ७८२ नयाँ संक्रमित फेला परेका थिए । शनिबार आठ हजार ३३६ र शुक्रबार आठ हजार १०५ संक्रमित फेला परेका थिए ।
विगत ६ दिनयता हरेक दिन नयाँ संक्रमित भेटिने क्रम उकालो लागेको छ । ६ दिनअघि २६ मेमा एकै दिन पाँच हजार ८४३ संक्रमित फेला परेका थिए । एक सातामा भेटिएका एकै दिन भेटिएका संक्रमितको संख्या यो सबैभन्दा कम हो ।
त्यहाँ रेल र हवाई सेवा आंशिक खुलाइएको थियो । बजार पनि आंशिक खुला थिए । आज (१जुन) बाट भने ६८ दिन लामो बन्दाबन्दीलाई हटाउने घोषणा गरिसकेको छ । भारतमा संसारकै लामो बन्दाबन्दी लगाइएको दैनिक भाष्करले उल्लेख गेको छ ।
सरकारले बन्दाबन्दी क्रमशः हटाउँदै जाने निर्णय अनुसार पहिलो चरणलाई ‘अनलक १’ नाम दिएको छ । आजबाट ‘इ पास’ र पूर्व स्वीकृति नलिइ एक जिल्लाबाट अर्को जिल्ला आवातजावत गर्न पाइने छ । तर, बालबालिका र वृद्धवृद्धालाई भने घरबाहिर निस्कने अनुमति छैन ।
त्यस्तै धार्मिक स्थल, सपिङ मल, रेष्टरेन्ट पनि खुला गरिने छन् । अन्तराष्ट्रिय हवाई सेवा, मेट्रो रेल, सिनेमा हल र शैक्षिक संस्था भने बन्दै हुनेछ ।
भारतमा कूल संक्रमितको संख्या एक लाख ९० हजार ६०९ पुगिसकेको छ । तीमध्ये ९१ हजार ८५२ जना निको भएका छन् भने पाँच हजार ८०४ जनाको मृत्यु भएको छ । उपचाररत संक्रमितको संख्या ९३ हजार ३४९ छ ।
-एजेन्सीहरुको सहयोगमा