हव अस्पतालहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न मन्त्री ढकालको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पूर्ण क्षमतामा सञ्चालित हुन हव अस्पतालहरूलाई निर्देशन दिएका छन् ।
हव अस्पतालका प्रमुखहरूलाई शुक्रबार (आज) मन्त्रालयमै बोलाएर मन्त्री ढकालले पूर्ण क्षमतामा अस्पताल सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् ।
केही दिनदेखि उपचार सेवाका बारेमा गुनासो आएको भन्दै उनले कुनै पनि गुनासो आउन नदिने गरी पूर्ण सेवा शुरु गर्न भनेका हुन् ।
मन्त्री ढकालले अहिलेको समयमा सूचना प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता रहेको भन्दै स्याटेलाइट अस्पतालहरूले हब र हब अस्पतालले मन्त्रालयलाई प्रभावकारी रिपोर्टिङ गर्न पनि निर्देशन दिएका छन् ।
मन्त्री ढकालले मानवस्रोत परिचालन सबन्धी स्पष्ट योजना बनाउन र बिरामी बढ्दै जाँदा बेड थप्नुपर्ने भएमा पनि तयारी अवस्थामा रहन भनेका छन् ।
कुनै पनि अस्पतालाई स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने भन्दै मन्त्री ढकालले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउँदै अघि बढ्नुपर्नेमा पनि जोड दिए ।
छलफलमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा.प्रेमकृष्ण खड्गा, वीर अस्पतालका कार्यकारी निर्देशक केदार सेञ्चुरी, विरेन्द्र सैनिक अस्पतालका डा. उदय बज्राचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद शर्मा, सिभिल सर्भिस अस्पतालका कार्यकारी निर्देशक डा. दीर्घराज आरसी र भक्तपुर अस्पतालका डा. सुनिल ढुंगेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ, मन्त्रालयका विशेषज्ञ डा. दीपेन्द्ररमण सिंह, मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्की, इन्सिडेन्ट कमान्ड सिस्टमका प्रमुख डा. गुणराज लोहनीलगायत सहभागी थिए ।