बजेटमा एमसीसी राखिए पछि शनिबार बाेलाइयाे नेकपा सचिवालयको बैठक
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाइएको हो।
बैठक बिहान ९ बजे बोलाइएको छ। उच्च स्रोतका अनुसार, आगामी आर्थिक वर्षको बजेटमा विवादित अमेरिकन परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राखिए पछि सचिवालय बैठक बोलाइएको हो। बैठकमा बजेट केन्द्रीत छलफल हुने जनाइएको छ।
१५ जेठमा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेट प्रष्ट भाषामै एमसीसी समावेश गरिएको छ। बजेट बक्तव्यमा नराखिएको एमसीसी अनुसूचीमा राखिएको हो।
विदेशबाट आउने अनुदान अन्तर्गतको अनुसूची–१० मा एमसीसी राखिएको छ। अमेरिकाबाट आउने अनुदानमा एमसीसीबाट यो वर्ष पाँच अर्ब ७२ करोड ७२ लाख आउने अनुमान गरिएको छ। अमेरिकाबाट अनुदान आउने यूएस एड सँगै एमसीसी पनि उल्लेख गरिएको छ।
यूएस एडबाट ३५ करोड आउने अनुमानसँगै एमसीसी उल्लेख गरिएको छ। जबकी, एमसीसी संसदले पारित नै गरेको छैन। नेकपामा एमसीसीबारे विवाद भएपछि गएको पुसमा सकिएको केन्द्रीय कमिटी बैठकले बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा अध्ययन कार्यदल बनाएको थियो।
कार्यदलमा समेत विवाद छ। संयोजक खनाल र सदस्य भीम रावलले एउटा र अर्का सदस्य एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छुट्टै प्रतिवेदन तयार पारेका छन्। “पारित हुने वा नहुने टुंगो नभएको परियोजनाबाट अनुदान आउने अनुसूचीमा लेखिनु र नेपाल तर्फबाट पनि बजेट विनियोजन हुनुले नैतिक प्रश्न उठेको छ”, नेकपाका एक नेताले भने।
एमसीसी परिमार्जन सहित पारित गर्नुपर्ने अडान राख्दै आएका ती नेता, पार्टीले निर्णय नगरिसकेको बिषय बजेटमा राख्नु गल्ती भएको बताउँछन् । उनी भन्छन्, “बजेटमै राख्नुपर्ने थियो भने एमसीसीबारे निर्णय लिन ढिलाई गर्नु हुँदैनथ्यो ।”
बजेट आउन केही दिन अगाडि मात्रै एमसीसीबारे सचिवालयमा छलफल राखिएको थियो। तर, प्रधानमन्त्री ओली उक्त छलफलमा अनुपस्थित भएपछि कुनै निर्णय हुन सकेको थिएन।
रु. १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेको सरकारले आगामी आर्थिक वर्ष रु.६० अर्ब ५२ करोड वैदेशिक अनुदानबाट आउने अनुमान गरिएको छ। बजेट माथिको छलफल आइतबार ११ः०० बजेबाट शुरु हुँदैछ।