पूर्व अर्थमन्त्री डा. लोहनी भन्छन्, “बजेटको आकार ठीक छ”
पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत गरेको बजेटको आकार ठीक भएको बताएका छन् । हिमालखबरसँग कुरा गर्दै डा. लोहनीले बजेटको आकारका विषयमा आलोचना गर्नु आवश्यक नरहेको बताएका हुन्।
सरकारले आगामी आर्थिक वर्षका लागि रु. १४ खर्ब ७४ अर्बको बजेट प्रस्तुत गरेको छ । डा. लोहनीले बजेटले सार्वजनिक स्वास्थ्यमा दिएको प्राथमिकताको पनि आफूले समर्थन गरेको बताए।
तर, बजेटले उल्लेख गरेअनुसारको कार्यक्रमको कार्यान्वयनको विषयमा भने आफू आश्वस्त नरहेको उनको विचार छ । “बजेट कार्यान्वयनको राजनीतिक प्रतिवद्धता देखिएन, त्यसैले यो परम्परालाई तोड्ने खालको छैन,” लोहनीले भने।
बजेटले खाद्य सुरक्षा तथा ऊर्जा सुरक्षामा पनि आवश्यक प्राथमिकता दिन नसकेको डा. लोहनीले बताए । “कृषिमा जुन तदारुकताका साथ कार्यक्रम र योजना अघि सारिनुपर्थ्याे त्यो हुन सकेन,” उनले भने।
विदेशबाट फर्किएका नेपालीलाई संलग्न गराउने गरी ठूलो रोजगारीको अवसर सिर्जना गर्ने विषयमा पनि बजेटले प्रस्ताव गर्न नसकेको उनल बताए।