रिपोर्ट बुधबार, जेठ १४, २०७७

हिम्मतले जितिन्छ कोरोना संक्रमण, तर प्राथमिकतामै छैन मानसिक स्वास्थ्य परामर्श

नुनुता राई

हिम्मतले जितिन्छ कोरोना संक्रमण, तर प्राथमिकतामै छैन मानसिक स्वास्थ्य परामर्श
स्केच: भानु भट्टराई

कोरोनाभाइरसको संक्रमणपछि मृत्यु हुनेभन्दा स्वास्थ्य लाभ गर्नेको संख्या धेरै छ । विभिन्न मुलुकमा तीन महीनाको बच्चादेखि ११३ वर्षकी वृद्धाले समेत स्वास्थ्य लाभ गरेका छन् । अधिकांशले बलियो मनोबलका कारण कोरोनाभाइरसलाई जितेको अनुभव साटिरहेका छन् ।

वीरगञ्जका पत्रकार सुरेश बिडारीले आफूलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको सामाजिक सञ्जाल फेसबूकमार्फत सार्वजनिक गरे । उनले आफू स्वस्थ नै भएको उल्लेख गर्दै ‘शीघ्र स्वास्थ्य लाभको कामना’ नलेख्न आग्रह गरे । कोरोनाभाइरस संक्रमणबाट मुक्त भएपछि ‘हिम्मतले जितेको’ उल्लेख गरे।

उच्च मनोबलले कोरोनाभाइरसलाई जित्न सकिने हुँदा संक्रमण भइहाले पनि नडराउन, नआत्तिन र सचेतनापूर्वक स्वास्थ्यको ख्याल गर्न स्वास्थ्यकर्मीहरूले आग्रह गरिरहेका छन् । विश्व स्वास्थ्य संगठनले पनि विश्वव्यापी महामारीले मानसिक स्वास्थ्य समस्या बढाउने जनाउँदै यो क्षेत्रमा काम गर्न सुझाव दिएको छ । तर, नेपालले भने यस सम्बन्धी कुनै तयारी गरेको छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले क्वारेन्टिन संचालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ (स्थानीय तहहरू सबै) तयार गरेको छ । यो मापदण्डमा पनि ‘उपलब्ध भएसम्म मनोपरामर्श तथा सकारात्मक सोच सम्बन्धी क्रियाकलाप संचालन गर्नुपर्ने’ उल्लेख छ ।

“यो महामारीमा मानसिक स्वास्थ्य संकट आउन सक्ने विश्व स्वास्थ्य संगठनले भनिरहेको छ तर सरकारले सुनिरहेको छैन । सरकारले मानसिक स्वास्थ्य समस्यालाई बेवास्ता गरिरहेको छ ।”

स्वास्थ्य मन्त्रालयका अनुसार १२ जेठसम्म देशका विभिन्न स्थानमा सरकारले बनाएका क्वारेन्टिनमा बस्नेको संख्या ३९ हजार ८०४ र संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बस्नेको संख्या ५१३ छ । उनीहरूको मानसिक स्वास्थ्यबारे सरकारले चासो नदिएको मनोविद् तथा मनोचिकित्सकहरू बताउँछन् ।

साइक्याट्रिस्ट एशोसिएसन अफ नेपाल (पान)का उप–प्रमुख समेत रहेका डा. निर्मल लामिछाने मानसिक स्वास्थ्य अवस्थाबारे सरकार गम्भीर नभएको बताउँछन् । उनका अनुसार कुनै पनि सरकारी निकायले मनोपरामर्शका लागि पानसँग समन्वय गरेका छैनन् ।

उनी भन्छन्, “यो महामारीमा मानसिक स्वास्थ्य संकट आउन सक्ने विश्व स्वास्थ्य संगठनले भनिरहेको छ तर सरकारले सुनिरहेको छैन । सरकारले मानसिक स्वास्थ्य समस्यालाई बेवास्ता गरिरहेको छ ।” महामारीको वेला मानसिक स्वास्थ्य समस्याबारे व्यापक जनचेतना दिनुपर्ने र सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

पोखराको निजी अस्पतालमा कार्यरत डा. लामिछाने आफूले संस्थागत तथा व्यक्तिगत रूपमा भाइबर, फोन मार्फत सुझाव दिइरहेको बताउँछन् । उनी भन्छन्, “अहिले हामीले संस्थागत रूपमा प्रेस विज्ञप्ति मार्फत हाम्रो फोन नम्बर सार्वजनिक गरेर आवश्यक परेको अवस्थामा सहयोग गर्ने भनेका छौं । धेरैको फोन पनि आइरहेको छ ।”
पानको तथ्याङ्क अनुसार नेपालमा १२० जना मनोचिकित्सक छन् । उनीहरू विभिन्न निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत छन् ।

डा. लामिछाने नेपालमा अझै कतिपयलाई मानसिक स्वास्थ्य समस्याको उपचार हुन्छ भन्ने जानकारी नभएको बताउँछन् । यसमा सरकारकै कमजोरी रहेको उनको भनाइ छ ।

मनोविद् सन्देश ढकाल हरेक क्वारेन्टिन र आइसोलेसनका साथै अन्य व्यक्तिलाई पनि मनोपरामर्शको जरूरी रहेको बताउँछन् । तर, आइसोलेसनमा रहेका केही संक्रमित बाहेककालाई अहिलेसम्म मनोपरामर्श दिइएको छैन । समयमा नै मनोचिकित्सक तथा मनोपरामर्शकर्ताहरूसँग समन्वय गरी काम गर्दा जोखिम रोक्न सकिने मनोविद् तथा चिकित्सकहरूको भनाइ छ ।

“नेपालले तत्काल मानसिक स्वास्थ्य सेवा प्रवर्द्धन गर्नुपर्छ । त्यसका लागि सम्बन्धित निकायले समन्वयात्मक तरिकाले मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाहरूलाई परिचालन गर्नुपर्छ ।”

ढकाल भन्छन्, “नेपालले तत्काल मानसिक स्वास्थ्य सेवा प्रवर्द्धन गर्नुपर्छ । त्यसका लागि सम्बन्धित निकायले समन्वयात्मक तरिकाले मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाहरूलाई परिचालन गर्नुपर्छ ।”

अहिले कोरोनाभाइरस संक्रमितको मृत्यु भए शव उठाउन पनि त्रासका कारण नसकिरहेको अवस्था छ । संक्रमणको आशंका भएका व्यक्तिले पनि दुव्र्यवहार खेप्नु परेको छ । संक्रमित तथा उनीहरूका परिवारले झनै समस्या भोग्नु परेको छ । यही कारण पनि उनीहरूको मनोबल खस्केको छ ।

सचेतनाको कमीले समाजमा त्रास फैलँदा यस्तो अवस्था आएको ढकाल बताउँछन् । मनोपरामर्शको माध्यमबाट अवस्था सामान्य बनाउन सकिने उनको भनाइ छ । “समयमा यतातिर ध्यान दिन सकिएन र यस्तो प्रवृत्ति बढ्दै गयो भने यसले ठूलो नकारात्मक परिणाम निम्त्याउँछ”, उनी भन्छन् ।

नेपालमा पर्याप्त मनोचिकित्सक र मनोपरामर्शकर्ताहरू रहेको भन्दै ढकालले समन्वयको मात्र जरूरी रहेको बताए । क्वारेन्टिनमा भएकाहरूलाई भौतिक दूरी कायम गरेर समूहमा र आइसोलेसनमा भएकाहरूलाई अवस्था अनुसार व्यक्तिगत तथा समूहगत रूपमा मनोपरामर्श दिनुपर्ने उनी बताउँछन् । प्रत्यक्ष भेट्न नसके अनलाइन वा अफलाइनको माध्यम पनि प्रयोग गर्न सकिने उनको सुझाव छ ।

प्रतिकृया दिनुहोस