सशस्त्र प्रहरीमा २१ जना निरीक्षक थपिए
सशस्त्र प्रहरीमा १३ औं ब्याचका २१ जना सशस्त्र प्रहरी निरीक्षक मंगलबारबाट थप भएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित प्रहरी निरीक्षकको ५८ हप्ता लामो आधारभूत तालिम मंगलवार सम्पन्न भएसँगै उनीहरू कार्यक्षेत्रमा खटिएका हुन् ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले तालिमको दीक्षान्त कवाजमा तालिममा प्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक रामकुमार घिमिरेलाई उत्कृष्ट पुरस्कार स्वरुप खुँडा प्रदान गरेका थिए । तालिममा कवाज, चाँदमारी र सहिष्णुतातर्फ उत्कृष्ट भएका प्रशिक्षार्थीहरुलाई खनालले पुरस्कृत गरेका थिए ।
सशस्त्रको यो दीक्षान्त कवाज कोभिड–१९ को परिस्थितिका कारण प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिमा भएको थियो ।
प्रधानमन्त्री के.पी.शर्मा ओलीले शुभकामना सन्देश मार्फत उच्च व्यावसायिकता, अनुशासन र इमान्दारिताका साथ राज्यप्रदत्त कार्यादेश सम्पादन गर्दै आइरहेकोमा बललाई धन्यवाद दिएका थिए । उनले बलले सम्पादन गर्ने जिम्मेवारीमा थप कुशलता तथा दक्षता अभिवृद्धि गर्न आवश्यक जनशक्ति र साधनस्राेत व्यवस्थापन गर्दै संगठनको सुदृढीकरण गरी आधुनिक र व्यावसायिक सुरक्षा निकायको रुपमा विकास गर्न सरकार क्रियाशील रहेको जानकारी गराए ।
गृहमन्त्री रामबहादुर थापाले प्रशिक्षार्थीहरुले तालिमबाट सिकेका ज्ञान, कला र कौशलको उपयोग गरी सुरक्षा चुनौतीहरुलाई मानवीय मूल्य र मान्यताप्रति प्रतिवद्व रही सुरक्षा सेवा प्रदान गर्न सफल रहने विश्वास व्यक्त गरे ।
मन्त्री थापाले पठाएको शुभकामना सन्देशमा शान्ति सुरक्षा कायम हुन सकेमा मात्र समग्र राष्ट्रको विकास एवं समुन्नती सम्भव हुने भएकाले राज्य प्रदत्त कार्यदेशहरुमा सशस्त्र प्रहरी बल, नेपालले उत्कृष्ट कार्य सम्पादन गरिरहेको र विशेष गरी सीमा सुरक्षामा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गरेका थिए ।
महानिरीक्षक शैलेन्द्र खनालले कोभिड–१९ को महामारी नियन्त्रणमा सशस्त्र प्रहरी कर्मचारीहरु दृढ विश्वासकासाथ अग्रपंक्तिमा रही अहोरात्र खटिई रहेको र सोको सबै क्षेत्रबाट प्रशंसा भइरहेको बताएका थिए।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेलसहित कार्यक्रममा उपस्थित थिए।