२७ वर्षमा ८३ विदेशी सैनिक अधिकारीलाई नेपाली सेनाको कमाण्ड तालिम
नेपाली सेनाले पछिल्लो २७ वर्षमा ८३ जना विदेशी सैनिक अधिकारीसहित एक हजार ४७ जना सुरक्षा अधिकारीहरुलाई कमाण्ड तथा स्टाफ तालिम दिएकाे छ।
सेनाले १४ पुस २०४९ मा स्थापना गरेको सैनिक कमाण्ड तथा स्टाफ कलेजले शुरुआतमा २०५० भदाैमा १२ जना अधिकृतलाई तालिम दिएको थियो।
सैनिक नियम अनुसार अधिकांश देशमा उच्च तहको सैनिक जिम्मेवारीका लागि कमाण्ड तथा स्टाफ तालिम अनिवार्य गरिएको छ। यस्तै, सेनाभित्र यसलाई वृत्ति विकासको पहिलो खुड्किलो मानिन्छ।
नेपाली सेनाले अमेरिका, भारत, श्रीलंका, माल्दिभ्स, बेलायत, पाकिस्तान, नाइजेरिया र लेबनान लगायत देशबाट सहभागी हुन आउने सैनिक अधिकारीहरुलाई तालिम दिँदै आएको छ। सेनाको स्टाफ तालिममा केही वर्षयता नेपाल प्रहरी र सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु नियमित सहभागी हुन थालेका छन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, हालसम्म नेपाली सेनाबाट ९ सय १४, नेपाल प्रहरीबाट ११, सशस्त्र प्रहरी बलबाट २४, राष्ट्रिय अनुसन्धान विभागबाट १४ र रक्षा मन्त्रालयका एक जनाले कमाण्ड तथा स्टाफ तालिम लिएका छन्।
सेनाले कमाण्ड तथा स्टाफ तालिमको २७औं ब्याचको शुरुआत मंगलबार गरेको छ। तालिममा नेपाली सेनाबाट ६० अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ गरी ३ अधिकृत सहभागी छन्। यस्तै, श्रीलङ्का, बेलायत र अमेरिकाका १/१ जना विदेशी शिक्षार्थी पनि सहभागी छन्।
शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा बलाधिकृत रथी शरदकुमार गिरीले तालिमको शुभारम्भ गरेका थिए। सेनाले तालिममा सहभागीहरुको कोभिड–१९ परीक्षण अनिवार्य गरेको छ।