समता फाउण्डेशनद्वारा चौरजहारी घटनाका दोषीलाई हदैसम्मको कारवाहीको माग
समता फाउण्डेशनले नवराज बिक र टीकाराम सुनार सहितको हत्यामा संलग्न सम्पूर्ण दोषीलाई हदैसम्मको कानूनी कारबाहीको माग गरेको छ।
फाउण्डेशनका कार्यकारी अध्यक्ष प्रदीप परियारद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाका दोषीलाई कारवाही, हराएकाको खोजी र उच्चस्तरीय छानविनको माग गरिएको हो।
फाउण्डेशनले कर्णाली प्रदेशको रुकुम पश्चिम चौरजहारीको सोतीमा गत १० जेठमा भएको हत्याको भर्त्सना गर्दै संविधानमा नै जातीय छुवाछूत तथा भेदभाव विरुद्धको हकलाई मौलिक हकको रूपमा संस्थागत गरिएको भएपनि जातिकै आधारमा दलित समुदायका व्यक्तिको निर्मम हत्या हुनु कानूनी राज्य र विधिको शासनको बर्खिलाफ भएको विज्ञप्तिमा जनाएको छ।
सत्यतथ्य छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्न, हत्यामा संलग्न दोषीलाई हदैसम्मको कानूनी कारबाही गर्न, भेरी नदीमा हराइरहेका अन्य व्यक्तिको खोजी र उद्धार गर्नसमेत फाउण्डेशनले सरकारसँग माग गरेको छ।