४८ लाख नेपाली वैदेशिक रोजगारीमा
करीब ४८ लाख नेपाली वैदेशिक रोजगारीका लागि विदेश गएको तथ्यांकले देखाएको छ । मंगलबार सार्वजनिक आर्थिक सर्वेक्षणका अनुसार, ४७ लाख ९२ हजार नेपाली वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा पुगेको देखिएको छ । यो संख्यामा भारतमा वैदेशिक रोजगारीका लागि गएका नेपालीको संख्या जोडिएको छैन।
तर, यीमध्ये कति नेपाली फर्किए र कति विदेशमैं छन् भन्ने अद्यावधिक अभिलेख भने छैन । गत फागुनसम्ममा वैदेशिक रोजगार विभागबाट विदेशमा श्रम स्वीकृतिको अनुमति लिनेको संख्या ५० लाख नाघेको छ।
वैदेशिक रोजगारीका लागि सबैभन्दा धेरै १३ लाख ६२ हजार नेपाली मलेसिया पुगेका छन् । तर, मलेसिया पुगेका यी सबै नेपाली अहिले पनि मलेसियामा भने छैनन्। अधिकांश फर्किइसकेका छन् । त्यस्तै, १३ लाख १ हजार जना वैदेशिक रोजगारीका लागि कतार पुगेका छन् । कतारमा अहिले करीब साढे तीन लाख नेपाली कामदार भएको अनुमान छ ।
वैदेशिक रोजगारीमा गएकामध्ये ५ प्रतिशत महिला छन् भने बाँकी पुरुष हुन् । वैदेशिक रोजगारीमा गएकामध्ये तीन चौथाइ कामदार अदक्ष छन् भने २४ प्रतिशत मात्र अर्ध दक्ष छन् ।