एडीबीले नेपाललाई रु. ३० अर्ब सहुलियत ऋण दिने
कोरोनाभाइरसको विपत्तिसँग जुध्न एशियाली विकास ब्याङ्क (एडीबी) ले नेपाललाई २५ करोड डलर (करीब रु. ३० अर्ब) सहुलियत ऋण दिने भएको छ। ब्याङ्कले मंगलबार नेपाललाई दिने सहुलियत ऋणका विषयमा टुङ्गो लगाएको हो।
नेपाल सरकारले यो ऋण रकमले देशको सार्वजनिक स्वास्थ्य क्षेत्रको सुधार, कोरोनाभाइरसले निम्त्याएको आर्थिक र सामाजिक जोखिमसँग जुध्न खर्च गर्ने एडीबीले जनाएको छ। त्यस्तै, विपन्न र जोखिममा परेका सर्वसाधारणलाई पनि यो सहयोग रकमले सम्बोधन गर्नेछ।
दैनिक ३ हजार कोरोनाभाइरसको परीक्षण गर्न सात वटै प्रदेशमा २ लाख जनालाई क्वारेन्टिनमा राख्न सक्ने क्षमता विस्तार गर्न यो ऋण सहयोग गरेको एडीबीले जनाएको छ।
एडीबीले कोरोनाभाइरसले सदस्य देशका अर्थतन्त्रहरुमा पारेको समस्यासँग जुध्न २० अर्ब डलरको कोष बनाएको छ।