सीमामा अलपत्र नेपालीकाे उद्धार गरिने
कञ्चनपुरको स्थानीय प्रशासनले सोमबार गड्डाचौकी नाकाबाट भारतीय बजारमा अलपत्र रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका अन्य नाका पूर्ण रूपमा बन्द गरी गड्डाचौकीबाट स्वास्थ्य परीक्षण गरेर जिल्लामा आउन दिने निर्णय गरेको हो ।
गएको ९ चैत यता गड्डाचौकी नाकाबाट भारतका विभिन्न शहरबाट करीब ७० हजार नागरिक भित्रिएका थिए ।
नेपाल–भारत सीमा सिल गर्नुका साथै लकडाउन थालिए यता दोधारा चाँदनी, ब्रह्मदेव, बेलौरी र पुनर्वासलगायतका क्षेत्रमा लुकिछिपी आउने क्रम रोकिएको छैन ।
“दशगजामा आएर नेपाली अलपत्र पर्न थालेपछि व्यवस्थित तवरले उद्धार गरी ल्याउन गड्डाचौकी नाकाबाट आउन लिने निर्णय गरिएको हो” कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भने, “गड्डाचौकीमा स्वास्थ्य जाँचदेखि आवागमन व्यवस्थित बनाउन तयारी गरिएको छ ।”
बिहानैदेखि सेना र स्वास्थ्यकर्मीको चिकित्सकसहितको टोलीले स्वास्थ्य जाँच गर्नुका साथै सशस्त्र र नेपाल प्रहरीले लाइन व्यवस्थापन लगायतमा खटिने तयारी प्रशासनले गरेको जनाएको छ । भारतमा यातायात सुचारु भएसँगै यहाँका नाकामा नेपाली अलपत्र पर्ने क्रम केही दिनयता बढ्दै गएको छ ।